
सन्तोष शर्मा
भद्रपुर, २ चैत । झापामा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ ।
झापाको भद्रपुरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयले आयोजना स्वास्थ्य कार्यालय झापाको संयोजनमा भएको ‘नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमका सहभागीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाईंले सूर्तीजन्य पदार्थ सेवन नियन्त्रणमा व्यक्ति स्वयम्को भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “सूर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने सबैलाई थाहा छ”, उहाँले भन्नुभयो, “अरुले भन्दा कसैले छोड्ने वाला छैन, त्यसका लागि आफूबाटै संकल्प जरुरी छ ।” नियम–कानून भए पनि कार्यान्वयनमा कठिनाइ भएको उहाँले बताउनुभयो ।
भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले कार्यपालिका बैठकबाटै कर्मचारी र जनप्रतिनिधिको आचारसंहिता तयार गरिएको बताउनुभयो । “कार्यालय समय र परिसरमा कुनै पनि कर्मचारी र जनप्रतिनिधले सूर्तीजन्य पदार्थ, मादक पदार्थ, लागुऔषध सेवन गर्न नपाउने आचारसंहिता बनाएर लागू गरिएको छ”, उहाँले भन्नुभयो, “यसले केही हदसम्म भए पनि नियन्त्रणमा टेवा पुग्ने विश्वास छ ।” आफूले कार्यालयमा सूर्तीजन्य पदार्थको सेवनमा निरन्तर निरुत्साहित गर्ने गरेको उहाँको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा इजाजतपत्र लिनुपर्ने प्रावधान बनाउनुपर्नेमा जोड दिनुभयो । “जसरी मदिरजन्य पदार्थलाई बेच्न लाइसेन्स अनिवार्य गरिएको छ, सूर्तीजन्य पदार्थ बेच्न पनि सोही प्रावधान ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “जहाँत्यही असरल्ल पाइनाले पनि यसरको नियन्त्रण सकेको छैन ।” स्थानीय सरकारले सूर्तीजन्य पदार्थको नियन्त्रण जोड दिनुपर्ने उहाँको भनाइ छ ।
अन्तरक्रियामा मन्त्रालयका कानून विभाग प्रमुख गोपीकृष्ण रेग्मीले नेपालमा सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) सम्बन्धी कानूनी व्यवस्थाका बारेमा जानकारी दिनुभयो । सूर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, जनस्वास्थ्य ऐन २०७५, सूर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८, सूर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) निर्देशिका २०७१ का बारेमा सहभागीलाई जानकारी दिइएको थियो ।
कनकाई नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत खगेन्द्र दंगालले कनकाई नगरपालिकाले नगर क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको बताउनुभयो । उहाँले पूर्णरुपमा नियन्त्रण गर्न कठिनाइ भए पनि केही हदसम्म नतिजाप्राप्त भएको उहाँले बताउनुभयो ।
गौरीगञ्न गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले लागुऔषध, सूर्तीजन्य पदार्थ, मादक पदार्थ नियन्त्रणका लागि गाउँपालिकाले अभियान नै सञ्चालन गरिरहेको बताउनुभयो । सीमानाका जोडिएकाले नाकामै होल्डिङ सेन्टर बनाएर लागुऔषध नियन्त्रणका प्रयास भइरहेको सुनाउनुभयो ।
सूर्तीजन्य पदार्थ नियन्त्रणमा सञ्चार क्षेत्रको साथ सहयोग रहने पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले बताउनुभयो । सूर्तीजन्य पदार्थको निन्त्रणका लागि सरकारले बनाएका कानून कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा मन्त्रालयका बरिष्ठ जनस्वाथ्य अधिकृत रविकान्त मिश्रले विश्व र नेपालमा सूर्तीजन्य पदार्थको सेवनको अवस्था र असरबारे सहभागीलाई जानकारी दिनुभयो । पछिल्लो अध्ययन अनुसार सूर्तीजन्य पदार्थ सेवन गर्ने दर बृद्धि गइरहेको बताउँदै उहाँले कोशी प्रदेशमा चार जनामा एक जनाले सूर्तीजन्य पदार्थको प्रयोग गरिरहेको उल्लेख गर्नुभयो ।
“उमेर बढ्दै जाँदा सूर्तीजन्य पदार्थको सेवन पनि बढ्दै गएको अध्ययनले देखाउँछ”, उहाँले भन्नुभयो, “यो नराम्रो हो, खानु हुँदैन भन्ने जान्दाजान्दै सेवन दर बढ्दो छ ।”
पछिल्लो अध्ययन अनुसार सूर्तीजन्य पदार्थमध्ये सबैभन्दा धेरै चुरोट ८७ प्रतिशत, बिढी २४ प्रतिशत, सिगार १६, हुक्का सात र अन्य चार प्रतिशत सेवन गर्ने गरेको पाइन्छ । सूर्तीजन्य पदार्थको कुलतमा फँसेका मानिसमध्ये अधिकांशले जोड्छु भन्ने गरेको र १९ प्रतिशतले छोड्ने कोसिस गरिरहेको बरिष्ठ जनस्वाथ्य अधिकृत मिश्रले बताउनुभयो ।
मन्त्रालयका कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मीका अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गर्नुभएको थियो ।



