
झापा, ३ चैत । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–६ बाट गाँजा ४ केजी ६५० ग्रामसहित ७४ वर्षीय भरोसी यादव, ३९ वर्षीय गोपाल यादव र कचनकवल–७ का २७ वर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
त्यसैगरी, शुक्रबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बराह्रक्षेत्र नगरपालिका–६ सुनसरीका ३० वर्षीय विजयकुमार राउतलाई लागुऔषध ब्राउनसुगर १६ ग्राम ८८ मिलिग्रामसहित पक्राउ गरेको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट नियन्त्रित औषधि ट्रमानिल र स्पास्मो गरी जम्मा ७०८ ट्याबलेटसहित बराहक्षेत्र–४ का २१ वर्षीय गोविन्द खत्रीलाई प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।


