
झापा, ५ चैत । अगामी चैत १५ गते हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षा चैत १५ गतेबाट सुरु भई चैत २७ गते सकिने छ ।
देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका छन् । बोर्डले परीक्षाको लागि प्रश्नपत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष ५ लाख प्रश्नपत्र छापिएको बताए ।
नेपाल बाहिर जापानमा एउटा परीक्षा केन्द्र तोकिएको छ । जहाँ २१ जना विद्यार्थीले एसईई दिनेछन् । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले लेटर ग्रेड निर्देशिका अनुसार पहिलो पटक एसईई गर्न लागिएको बताए । न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अध्यक्ष शर्माले बताए । यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए ।


