
झापा, ५ चैत । राष्ट्रिय प्रतिभा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान–२०८०’ समर्पण गरिने भएको छ।
पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोग र जय नेपाल प्रतिभा प्रोत्सान प्रतिष्ठानको आयोजनामा १ लाख ११ हजार १११ रुपैयाँको राशिको उक्त पुरस्कार समर्पण गरिने भएको हो । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी मदनकृष्ण र हरिवंशलाई यही चैत ७ गते सम्मान गरिने जानकारी दिइयो ।
कला क्षेत्रको माध्यमबाट नेपाली जनतालाई आदर्शको बाटो देखाउने असल व्यक्तित्वको रुपमा उनीहरूलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिनुभयो । टुङ्गबहादुर बस्नेत र उहाँकी धर्मपत्नी पूर्णकुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण–टुङ्ग स्मृति कोषमार्फत समाजलाई असल मार्गमा डोहोर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्य अनुरूप यस वर्ष उनीहरुलाई सम्मान गर्न लागिएको उहाँले बताउनुभयो ।
एक करोड रुपैयाँ राशिको उक्त कोषबाट प्राप्त ब्याजबाट स्मृति, सम्मान र सत्प्रेरणा दिन सम्मान र पुरस्कार दिने योजना अनुसार विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने अध्यक्ष बस्नेतको भनाइ छ । चैत ७ गते हुने विशेष समारोहमा नाट्य तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व भारत कालेम्पुङका सिके श्रेष्ठले उनीहरूलाई सम्मान प्रदान गर्नुहुने कार्यक्रम तय भएको छ।
सभ्य र समृद्ध समाज निर्माण गर्ने गन्तव्यमा थोरै भए पनि योगदान पुर्याउने उद्देश्यले २०५५ सालमा स्थापित प्रतिष्ठानले तत्कालीन मेची अञ्चललाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा पूर्ण टुङ्ग अक्षयकोषका संस्थापक समदस्य जितेन्द्र बस्नेतले अक्षयकोषका बारेमा जानकारी दिँदै आफ्ना पिताले जीवनकालमै लोककल्याणका निमित्त कोष स्थापना गरिदिएको बताउनुभयो । प्रतिष्ठाका उपाध्यक्ष राजकुमार पोखरेलले सहजीकरण गरेको कार्यक्रमका प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत गर्नुभएको थियो ।


