
झापा, ७ चैत । झापा, इलाम र मोरङ जिल्लाको छुट्टा–छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ वर्षीय विक्रम मगर र सुनसरीको इटहरी उप–महानगरपालिका–४ का ५२ वर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न १–००२–०४४प ३८१ नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले मंगलबार राति इलामको इलाम नगरपालिका–७ टुडिखेल स्थितबाट स्थानीय ३० वर्षीय राकेश पाँचकोटी र उनकै श्रीमती २९ वर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ झापाको बाह्रदशी गाउँपालिका–२ बिरिङ पुल स्थितबाट मे ७ प १०२७ नम्बरको मोटरसाइकल चालक झापाको झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकल पछाडी सवार २६ वर्षीय मो. हुसेन र २१ वर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम लागुऔषध ब्राउन सुगर र मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी, इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह गौरादह नगरपालिका–१ का २८ वर्षीय बिशाल सुब्बा, २६ वर्षीय सुजन अधिकारी, ३५ वर्षीय राजकुमार ताजपुरिया र २८ वर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


