
बिर्तामोड, ८ चैत । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई बुधबार सम्मान गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले बिर्तामोडमा महजोडीका रुपमा परिचित कलाकार श्रेष्ठ र आचार्यलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो ।
पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको अक्षयकोषको सहयोगमा महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको हो । भारतको दार्जीलिङका प्रख्यात नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
पुरस्कृत प्रतिभा हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गरे । उनले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको भन्दै हर्ष व्यक्त गरे । मदनकृष्ण श्रेष्ठसँगको ४४ बर्षको सहयात्राले आफूलाई यो स्थानमा पु¥याएको भन्दै उनले मित्रताको दीर्घकालीन नमूना हुन पाएकोमा गौरव महशुस गरेको बताए ।
अर्का सम्मानित व्यक्तित्व मदनकृष्ण श्रेष्ठले हरिबंश आचार्य उनले अहिलेसम्म पाएको मध्ये सबैभन्दा ठूलो पुरस्कार रहेको भन्दै ईश्वरले हरिवंशलाई आफ्नै लागि पठाएको बताए । उनले आदर्श नागरिकका रुपमा आफूलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता रहेको समारोहमा पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानका सदस्यहरु श्याम बस्नेत, जीतेन्द्र बस्नेत, शान्ता शिवाकोटी, पवित्रा खड्का, अमृता थापा, सरिता खत्री र रमा बस्नेतले समेत मह जोडीलाई सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्यले गरेकी थिइन् ।


