
धरान, १० चैत । सुनसरीको धरान उप–महानगरपालिका–१६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
गत चैत ७ गते धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बीच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा रहेको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट कुकरसहितको प्रहरी टोली र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डक्टरसहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भिक अनुन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा उक्त शव धरान–१६ की २१ वर्षीया सुमना श्रेष्ठको रहेको खुल्न आएको थियो । घटनाको प्रकृति हेर्दा मृतक सुमना श्रेष्ठको हत्या भएको देखिएपछि प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान थालेको थियो । प्रहरीले गहिरो अनुसन्धान पश्चात हत्यामा संलग्न धरान–१७ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेललाई पक्राउ गरेको हो ।
मृतक श्रेष्ठ र भुजेल बीच करीब २ बर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध रहेको र बिस्तारै सम्बन्धमा खटपट हुँदै गएपछि चैत्र ६ गते भुजेल मृतक श्रेष्ठलाई भेट्न धरान आएको र भेटघाट गरी आफ्नै स्कुटरमा श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउँदै जाने क्रममा उनीहरूको बीच फेसबुक प्रयोगको विषयमा विवाद भएपछि भुजेलले श्रेष्ठको खुकुरीले घाँटी रेटी हत्या पश्चात खोल्सामा फाली भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
भुजेललाई धनकुटा नगरपालिका–९ मुलघाटबाट लुकिछिपी बसेको अवस्थामा फेला पारी गत बिहीबार पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


