
सन्तोष शर्मा
झापा, १० चैत । झापामा १४ वर्षमुनिका २५ जना बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका पाँच सय ७० जना नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो ।
जिल्लामा भेटिएका नयाँ क्षयरोगीमा एक सय ८२ जना महिला र तीन सय ८८ जना पुरुष रहेका छन् । ती मध्ये चार सय ३१ जनामा फोक्सो सम्बन्धी क्षयरोग देखा परेको छ भने एक सय ३९ जनामा अन्य क्षयरोग देखिएको उहाँले बताउनुभयो ।
त्यस्तै, एचआइभी संक्रमित नौ जनामा क्षयरोग देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी सात जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा आर्थिक वर्ष २०७७÷७८ मा नौ सय ९२, आव २०७८÷७९ मा एक हजार एक सय ८६ र आव २०७९÷८० मा एक हजार एक सय ६५ जना क्षयरोगी फेला परेका थिए । झापामा भोलि (आइतबार) ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस–२०८० मनाइँदैछ ।
“चालू आर्थिक वर्षमा क्षयरोगको बिरामीको अनुपात हेर्दा ५५ प्रतिशत पत्ता लागेको देखिन्छ”, फोकल पर्सन दासले भन्नुभयो, “अझै ४५ प्रतिशत थप क्षयरोगी पत्ता लगाउनु चुनौती देखिन्छ ।” गत आव २०७९/८० क्षयरोगबाट २० जनाको मृत्यु भएको थियो ।
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । श्वाप्रश्वासको माध्यमबाट सर्ने क्षयरोगीले खोक्दा, हाछ्यु गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने गर्दछ ।
राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ३७ हजार ४४७ क्षयरोगका बिरामीहरु पत्ता लागेको फोकल पर्सन दासले बताउनुभयो । क्षयरोग पत्ता लागेका तीन प्रतिशत बिरामीहरुको मृत्यु भएको छ भने ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका छन् ।
सङ्क्रमित बिरामी मध्ये ८ प्रतिशत १५ वर्ष मुनिका बालबालिका रहेका छन् । ७२ प्रतिशत बिरामी फोक्सो सङ्क्रमित छन् भने २८ प्रतिशत बिरामी फोक्सो बाहेक अन्य अङ्गहरुको संक्रमित छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा आर्थिक वर्ष २०७९/०८० मा ७० हजार नयाँ क्षयरोगका बिरामीहरु थपिनुका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो । नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा क्षयरोग उन्मुलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको छ ।
नेपालमा विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको देशमा पर्दछ । डब्लुएचओले २९ सय व्यक्ति औषधि प्रतिरोधी क्षयरोग विकास हुने अनुमान गरिएको छ । नेपालमा ६९३ जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी पत्ता लाएकोमा ५४६ बिरामी मात्र उपचारको दायरामा आएका छन् ।
पत्ता लागेका क्षयरोगका बिरामीको उपचार सफलता दर ९२.४ प्रतिशत रहेको छ । त्यसैगरी, औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता दर ८२ प्रतिशत रहेको छ ।
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोक्दा खकारमा रगत देखिनु, साँझपख ज्वरो तथा पसिना आउनु, खानामा रुचि कम हुनु, तौल कम हुनु, क्षयरोगका प्रमुख लक्षण हुन् ।


