
कनकाई, १६ चैत । झापाको कनकाई नगरपालिकाले जटिल प्रकृतिका रोग भएका बिरामीलाई घरमै पुगेर उपचार सहयोग रकम प्रदान गरेको छ ।
नगरका ९१ जना जटिल रोगीलाई घरमै पुगेर रू २५ लाख ५५ हजार रुपैयाँ प्रदान गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । “जटिल रोग भएका बिरामीलाई उपचारमा राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको छ”, उहाँले भन्नुभयो, “बिरामीको घरमा पुगेर उनीहरुकै हातमा पैसा दिएका छौं, उनीहरुको उपचारमा थोरै भए पनि राहत मिल्ने अपेक्षा छ ।”
क्यान्सर, मृगौलाको डाइलासिस गराइरहेका, मेरुदण्डको पक्षघात भएका बिरामीलाई मासिक रू पाँच हजारका दरले छ महिनाको एकमुष्ठ रू ३० हजार प्रदान गरिएको हो । अन्य सामाजिक सुरक्षा भत्ता नलिएका नगरको नौ वटै वडाका बिरामीलाई उक्त रकम प्रदान गरिएको छ ।
कनकाई वडा नं. १ का १० जना, २ का आठ जना, ३ का ३३ जना, ४ का छ जना, ५ का सात जना, ६ का आठ जना, ७ का नौ जना, ८ का आठ जना र ९ नम्बर वडाका दुई जनालाई उपचार सहयोग रकम प्रदान गरिएको कनकाई नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै, नगरपालिकाले यहाँका अतिविपन्न, एचआइभी पीडित र कुष्ठरोगीको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको छ भने स्वास्थ्य स्वयम्सेविकालाई अर्धनिःशुल्क स्वास्थ बिमा गरिएको उहाँले बताउनुभयो । नगरले प्रत्येक वर्ष लक्षित वर्गको निःशुल्क स्वास्थ बिमा गरिदिँदै आएको छ ।

नगर प्रमुख पोखरेल, वडा नं. १ का वडा अध्यक्ष सुशीलकुमार पोखरेल, वडा सदस्य निर्मला खड्का, हरिकुमार राई लगायतले घर–घरमा गएर वडा न १ का १० जनालाई सहयोग रकमको चेक प्रदान गर्नुभएको थियो भने अन्य वडामा सम्बन्धित वडाका अध्यक्षसहितका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी लगायतले चेक प्रदान गर्नुभएको सिनियर अनमी टिका दवाडीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



