
झापा, २८ चैत । झापाको दमकमा मंगलबार राति आगलागी हुँदा करिब अडाइ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
दमक नगरपालिका– स्थित ५ लाइफ लाइन अस्पताल छेउमा रहेको प्रेम धिमालको घरमा सञ्चालित स्नेहा होटल इन्भटरको लाइन सर्ट भई अचानक आगलागी हुँदा उक्त २ करोड ४८ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट धिमालको काठ, टिनको बेरा र टिनकै छानो भएको एक तल्ले घर, घरमा रहेको सुन ३५ तोला, लत्ता कपडा लगायतका सरसामान र ४ लाख गरी ७९ लाख ९० हजार, सोही स्थानकी रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको १ तल्ले घरको आंशिक रुपमा क्षेती हुँदा करिब ५ लाख, हल्दिबारी गाउँपालिका–५ घर भइ हाल सोही स्थानमा रुवी होटल सञ्चालन गरी बस्ने मेखबहादुर तामाङको टिनको छानो, टिन र तारको जालीको बेरा भएको १ तल्ले घर र सरसामान गरी १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै, लाइफ लाइन अस्पतालको पक्की वाल भएको र दोस्रो तल्लामा माथिबाट टिनको छानो भएको डाइलोसिस वार्डको झ्यालबाट आगो पसी डाईलोसिस मेसिन थान ६, एसी थान ३ वटा, सीसी क्यामेरा थान लगायतका सामान जलेर नष्ट हुँदा १ करोड ५० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागी दमक नगरपालिकाको २ वटा दमकल, कमल गाउँपालिकाको १ वटा, गौरादह नगरपालिकाको १ वटा, पथरी शनिश्चरे नगरपालिकाको १ वटा र उर्लाबारी नगरपालिकाको १ वटा गरी छ वटा दमकल, इलाका प्रहरी कार्यालय दमकबाट २० जना प्रहरी, सशस्त्र प्रहरी गण पाडाजुङीबाट २५ जनाको टोली र स्थानीयबासीको नियन्त्रणमा लिइएको थियो ।


