
बिर्तामोड, २८ चैत । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रको पूर्ण पुनःसंरचना हुने बताउनुभएको छ ।
प्रेस सेन्टर झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सञ्चार क्षेत्रमा धेरै परिवर्तन भइसकेकाले त्यसलाई पुराना ऐन कानूनले नसमेट्ने बताउनुभयो । त्यसैले सञ्चार क्षेत्रको संरक्षण र नियमनका लागि सञ्चार क्षेत्रको पूर्ण पुनःसंरचना गर्न लागिएको उहाँले बताउनुभयो ।
सञ्चार क्षेत्रको विकास र नियमनका लागि मिडिया पोलिसि काउन्सिल ऐन पुनः निर्माणको तयारी भइरहेको बताउँदै समाजिक सञ्जाल निर्देशिका जारी गर्नुका साथै साइबर अपराध नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो । प्रविधि धेरै अघि बढिसकेको बताउँदै त्यसलाई नियमन गर्ने कानून नभएको उहाँको भनाइ छ । साइबर सुरक्षा पोलिसी २०८० निर्माण गरिसकेको बताउँदै उहाँले साइबर सुरक्षा केन्द्र स्थापना गरेर उद्घाटन हुने क्रममा रहेको उल्लेख गर्नुभयो ।
आम सञ्चार ऐन अर्थमन्त्रालयको सहमति लिएर कानून मन्त्रालयमा पुर्याइएको बताउँदै उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रमा नयाँ युवा, नयाँ प्रविधिको विकास भइरहेको छ, त्यसलाई समेट्न नयाँ कानून बनाउँदै छौं ।”
सरकार बजेट निर्माणको पूर्व सन्ध्यामा भएको बताउँदै उहाँले जनमुखी, उत्पादन र रोजगारीसँग प्रत्यक्ष सरोकार राख्ने र आमनागरिकको जीवनस्तर उकास्ने खालको बजेट निर्माणमा सरकार लागिपरेको उल्लेख गर्नुभयो ।
“राष्ट्रि«««य योजना पूरा गर्ने गरी र बजेटको बढी सदुपयोग हुने खालको बजेट निर्माणमा सरकार जुटेको छ”, उहाँले भन्नुभयो, “अहिलेको आर्थिक संकटलाई लक्षित गरेर जनमुखी बजेट निर्माण हुँदैछ ।”
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुष्प खड्काले गर्नुभएको थियो ।



