
चन्द्र बस्नेत
कनकाई, २९ चैत । मुस्लिम समुदायले इद–उल–फित्र झापाको कनकाईस्थित सुरुङ्गामा हर्षोल्लासका साथ मनाएका छन् ।
उनीहरूले एक आपसमा शुभकामना आदान–प्रदान साथै खुसी साटासाट गरी पर्व मनाएका हुन् । इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरान अवतरण भएको महिना रमजान रोजा सकिएपछि मनाइने पर्व हो । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा व्रत सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । खुसीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

यसैबीच, पर्वको अवसरमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना सन्देश जारी गर्दै सम्पुर्ण नेपालीहरुले मनाउने आ–आफ्नो पर्व उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले हरेक समुदायले आफ्नो कला, संस्कृती बचाई राख्न पनि पर्व मनाउन आवश्यक रहेकोे र यस्ता पर्वहरुले थप सद्भाव बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इदको अवसरमा आज बिहीबारका दिन देशभर सार्वजनिक बिदासमेत दिएको छ।
तस्वीर – समीर आलम ।


