
भोजपुर, ३ बैशाख । भोजपुरको षडानन्द नगरपालिका ९ स्थितबाट पेस्तोल सहित लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत आइतबार सोही स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका २ की ८५ वर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी एक जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङ्ला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका ८ बजे सोही जंगलमा टेम्के मैयुङ गाउँपालिका १ का ३७ वर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल एक थान, म्याग्जिन एक थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैयाँ तथा सुनका गरगहना समेत बरामद गरेको छ । परियार नेकपा बिप्लब समूहबाट नेकपा बहुमद समूह हुँदै हाल बैध समुहमा आबद्ध रहेको र २०७६ माघ २१ गते संगठीत अपराध, अपराधिक उपद्रव, एनसेल टावर आगजनी, जेसीबी आगजनी, राज्यविरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरी २०८० भदौमा कारगारबाट छुटेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।


