
बिर्तामोड, ३ बैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको पत्रकार उपचार कोष घोषणा गरेको छ । पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले मुलुकमै पहिलो पटक झापामा करोड रुपैयाँ राशीको कोष स्थापना गरेर आज एक समारोहका बीच घोषणा गरिएको हो ।
नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकार सहारा उपचार कोषको घोषणा गर्नुभएको हो । सोही अवसरमा कोषमा सहयोग गर्ने दातालाई सम्मान गरिएको छ ।
आठ वर्षअघि पत्रकारहरुको सुरक्षाका लागि कोष निर्माणको अभियान थालिएको थियो । नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण गरेर कोष स्थापनाको अभियान शुरु गरिएको थियो ।
सोही कार्यक्रमकाबिच पत्रकार महासंघ झापा शाखाले भवन स्तरोउन्नती गरी भवनको समेत उद्घाटन गरिएको थियो । महासंघ झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव डिकेश लामाले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा यादव, महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, कोशी प्रदेश पूर्व मुख्यमन्त्री हिक्मत कार्की, उद्धव थापालगायतले आ–आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत नृत्यसहित बिभिन्न नृत्यसमेत प्रस्तुत गरिएको थियो ।


