
दमक, ७ बैशाख । दमक नगरपालिकाले सामुदायिक विद्यालयलाई कुनै पनि वहानामा विद्यार्थीसँंग सहयोग शुल्क नलिन निर्देशन दिएको छ । दमक नगरभित्र २७ वटा सामुदायिक विद्यालयहरू छन् ।
नगरपालिकाको निर्देशनसँंगै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले यो शैक्षिक सत्रदेखि सहयोग शुल्क बुझउनु नपर्ने भएको हो । नगरपालिकाको निर्देशनसँंगै अब आधारभूत तह अर्थात् कक्षा ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनैपनि शीर्षकमा रकम बुझाउनु पर्दैन ।
निःशुल्क शिक्षा भनिए पनि अभिभावक सहयोग शुल्क, फारम शुल्क लगायतका विभिन्न शिर्षकमा विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शुल्क उठाउने कार्य हुँदै आएको थियो । नयाँ शैक्षिक सत्र शुरु भएसँगै नगरपालिकाले नगरका सबै सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यार्थीबाट एक रुपैयाँ पनि नलिन निर्देशन दिएको छ । विद्यार्थीको सङ्ख्याको आधारमा नगरपालिकाले रकम प्रदान गर्ने नगर प्रमुख रामकुमार थापाले बताएका छन् । निजी श्रोतका शिक्षकका लागि तलब खुवाउन, अग्रेंजी माध्यमबाट पठनपाठन गराउन भन्दै विद्यालयहरूले शुल्क उठाउँदै आएका थिए ।
विद्यालयहरूले नगरपालिकाको परिपत्र र निर्देशन विपरीत शुल्क ठाएमा त्यस्ता विद्यालयहरूलाई कारबाही गरिने पनि थापाले चेतावनी दिए ।


