
इलाम, ८ बैशाख । इलामको इलाम नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को पोलमा काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका–५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका–८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । कुँवरको शव डढेको अवस्थामा बिजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

Facebook Comments Box


