
कनकाई, १० बैशाख । हनुमान जयन्तीको अवसरमा झापाको कनकाई–३ स्थित सुरुङ्गामा विशेष पुजा हुने भएको छ ।
जयन्तीको अवसरमा भोलि पूजासहित विविध कार्यक्रम गरिने आयोजक संस्थाद्वय पाथीभरा मारबाडी समाज तथा अग्रवाल समाज नगर समितिले जनाएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस अवसरमा हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।
आयोजक संस्था पाथीभरा मारबाडी समाजका अध्यक्ष ईश्वर चन्द्र गोयलका अनुसार सुरुङ्गामा मंगलबार बिहान निशान यात्रा गरेर मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम संकीर्तन एवम् निशान पुजन, झाँकी, श्रीराम भजन लगायत कथा प्रवचन हुनेछ ।
बिहान ११ बजेदेखि महाप्रसाद सञ्चालन गर्ने सन्ध्याकालिन समयमा समेत विशेष कार्यक्रम संचालन गर्ने समाजका सदस्य सचिन वंशल सक्रिय युवा मुकेशकुमार गोयलले बताउनुभयो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत करिब ४ सय बढी भक्तजनको सहभागी हुने अपेक्षा रहेको राहुल वंशलले बताउनुभयो ।


