
कनकाई, १२ बैशाख । झापाको कनकाई नगरपालिकामा कीटजन्य रोगहरु बारेमा स्वास्थ्यकर्मी, स्वयम्सेविका तथा अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजना र कनकाई नगरपालिकाको सहजीकरणमा आज नगरपालिकाको सभाहलमा अन्तरक्रिया भएको हो । सबैले औषधि खाऔं, यो वर्ष अन्तिम बनाऔं भन्ने नाराका साथ बैशाख १६ गतेदेखि शुरु हुन गइरहेको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रमलाई सफल पार्ने उद्देश्यले अन्तरक्रिया गरिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले बताउनुभयो । हात्तीपाइले समेत कीटजन्य रोग भएकाले यस वर्ष हात्तीपाइले रोगविरुद्धको अभियानलाई सफल पार्न यसैमा जोड दिइएको उहाँको भनाइ छ ।
झापामा १३ औं पटक बैशाख १६ गतेदेखि हात्ती पाइले रोगविरुद्धको आम औषधि सेवन गराइँदैछ । जिल्लामा यो वर्ष नौ लाख बढी मानिसलाई तीन प्रकारका औषधि सेवन गराइने प्रमुख बाराकोटीले बताउनुभयो । गत वर्ष ७८ प्रतिशतले औषधि सेवन गरेका थिए । अभियान सफल बनाउन औषधि सेवन दर ८० प्रतिशत बढी हुनुपर्दछ ।
नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा भएको कार्यक्रमको कनकाई नगरपालिकका नगरप्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । नगरप्रमुख पोखरेलले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नुपर्नेमा जोड दिँदै अभियान सफल बनाउन कार्ड लागू गरिने र औषधि सेवन नगर्नेलाई सुविधाबाट बञ्चित गरिने समेत बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले प्रस्तुतीकरण दिँदै अभियान असफल हुनुमा औषधिप्रतिको भ्रम प्रमुख रहेको बताउनुभयो । हात्तीपाइले रोगको परजीवि मानिस र लामखुट्टेमा मात्र हुने भएकाले औषधि सेवन नै हात्तीपाइले रोग उन्मुलनको मुख्य अस्त्र भएको उहाँले बताउनुभयो । सबैले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग उन्मुलन नुहुने उहाँको भनाइ छ ।
हात्तीपाइले रोगविरुद्धको अभियान सञ्चालन गर्न सरकारले वार्षिक एक अर्ब रुपैयाँ भन्दा बढी लगानी गरिरहेको छ । रोग निर्मुलन गर्न सके राज्यको ठूलो रकम बचत हुने देखिन्छ ।
अन्तरक्रिया कार्यक्रममा डा. सञ्जीव यादवले कीटजन्य रोगसम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा कनकाई नगर अस्पतालका प्रमुख डा.धर्मेन्द मण्डल, स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत सुरक्षा खत्री, फेयरमेड फाउण्डेशन नेपालका प्रतिनिधि सञ्जय श्रेष्ठ, प्रमिला पराजुली लगायतको आतिथ्य रहेको थियो ।
स्वागत स्वास्थ्य कार्यालय झापाका युवनाथ बरालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कनकाईका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



