
सन्तोष शर्मा
भद्रपुर, १३ बैशाख । झापामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा मानसिक रोग (डिप्रेसन) देखिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका ८५ जनामा डिप्रेसन देखिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) भद्रपुर नगरपालिका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले जानकारी दिनुभयो । भद्रपुरमा २७ जना, दमकमा ९ जना, मेचीनगरमा २५ जना र गौरीगञ्जमा २४ जनामा डिप्रेसन देखिएको हो ।
“सुन्दर सपना देखेर विदेश जाने तर आफूले सोचेजस्तो नभएपछि धेरै जनामा मानसिक समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “त्यस्ता मानिसको पहिचान गरेर मनोसामाजिक परामर्श दिँदै आएका छौं ।”
वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्सलाई सदुपयोग गराउने उद्देश्यले उनीहरुका परिवारका सदस्यलाई वित्तीय साक्षरता समेत प्रदान गरिँदै आएको छ । सामी कार्यक्रम सञ्चालन भइरहेको झापाको चार वटा पालिका भद्रपुर, दमक, मेचीनगर र गौरीगञ्जका चार सय ३९ जनालाई वित्तीय साक्षरता प्रदान गरिएको छ । सातामा एक दिन गरेर २१ सातासम्म वित्तीय साक्षरता प्रदान गरिँदै आइएको छ ।
“वित्तीय साक्षरता पाएपछि पारिवारिक बजेट बनाउनेदेखि वित्तीय व्यवस्थापन गर्न सक्ने भएका छन्”, सामी हेल्बिटासका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले भन्नुभयो, “बचत बृद्धिसँगै उद्यममा लाग्न सक्षम भएका छन् ।”
जिल्लामा चालू आर्थिक वर्षको चैत महिनासम्ममा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको एक सय १७ वटा उजुरीमध्ये २२ वटा उजुरी समाधान भएका छन् । उजुरी समाधान गरी पीडितलाई रू ४५ लाख ९० हजार क्षतिपूर्ति उपलब्ध गराइएको सामाजिक परिचालन अधिकृत बुढाथोकीले बताउनुभयो ।
सामी कार्यक्रम अन्तरगत भद्रपुर नगरपालिकामा चालू आवमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका चार जनाको परिवारलाई वैदेशिक रोजगारमा बोर्डबाट मृत्युको आर्थिक सहायता प्रदान गराइएको छ ।
त्यस्तै, सात जनाको उद्धार, १५ जनालाई छात्रवृत्ति, १५ जनालाई औषधि उपचार सहायता उपलब्ध गराइएको बुढाथोकीले बताउनुभयो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले सामी परियोजनासँग सहकार्य गर्दै नगरले वैदेशिक रोजगारलाई व्यवस्थित गरिरहेको बताउनुभयो । वैदेशिक रोजगार जानेहरु बढी सचेत हुनुपर्नेमा जोड दिनुभयो । नगरबाट वैदेशिक रोजगारमा गएकाहरुको तथ्यांक संकलनको काम समेत भइरहेको उहाँले बताउनुभयो ।
नेपाल सरकार र स्वीस सरकार विकास सहयोगमा कोशी प्रदेशको ८ वटा जिल्लाको ३२ वटा पालिकामा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) सञ्चालन भइरहेको छ । सामी कार्यक्रम अन्तरगत वैदेशिक रोजगार सम्बन्धी सूचना, सीपमा पहुँच, न्यायिक सहजीकरण, वित्तीय साक्षरता र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गरिँदै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



