
सन्तोष शर्मा
भद्रपुर, १४ बैशाख । हात्तीपाइले रोगको स्रोत नै मानिस रहेको जनाइएको छ ।
हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानबारे आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा प्रस्तुति दिँदै स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले हात्तीपाइले रोगको परजीवी मान्छे र लामखुट्टेमा मात्र हुने भएकाले मानिस नै प्रमुख स्रोत भएको उहाँले बताउनुभयो ।
‘लामखुट्टेको जीवनचक्र एक÷ डेढ महिनाको हुन्छ’, उहाँले भन्नुभयो, ‘तर, मानिसको आयु लामो हुने भएकाले हात्तीपाइले रोगको परजीवी मानिसको शरीरमा लामोसम्म रहिरहन्छ, जसका कारण हात्तीपाइले रोगको जोखिम रहिरहन्छ ’ हात्तीपाइले रोगमुक्त बनाउन सबैले औषधि सेवन गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा प्रदेशसभा सदस्य छविलाल चुडाल, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेची प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रामबाबु खड्का, सुरक्षा निकायका प्रमुखहरुलगायतले हात्तीपाइले रोगको औषधि सेवन गरेर अभियानको शुभारम्भ समेत गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रदेश सभा सदस्य चुडाल, जिसस प्रमुख बरालले आम औषधि सेवन गर्न सबैलाई आग्रह गर्नुभयो ।
‘एक पटक खाऔ, यो वर्ष अन्तिम बनाऔ’ भन्ने नाराका साथ झापामा बैशाख १६ गतेदेखि ३० गतेसम्म १३ औं चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ। झापामा यो वर्ष हात्ती पाइले रोगविरुद्धको सफल बनाउन तयारी अन्तिम चरणमा पुगेको छ।
जिल्लाका १५ वटा पालिकाका नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ। अभियान सफल बनाउन ८० प्रतिशत बढी मानिसलाई औषधि सेवन गराउनु पर्नेछ । झापामा गत वर्ष औषधि सेवन दर ७८ प्रतिशत रहेको थियो । अभियानका लागि आवश्यक औषधि आइसकेको कार्यालयले जनाएको छ।
जिल्लामा औषधि सेवनका लागि छ सय छ जना स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



