
अर्जुनधारा, १८ बैशाख । अर्जुनधारा नगरपालिकामा विद्युत् ट्रान्सफर्मर जडान कार्य तीव्र बनाइएको छ ।
नगर क्षेत्रमा भोल्टेज समस्या समाधान गर्न विद्युत् ट्रान्सफर्मर जडान तीव्र पारिएको हो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनको विशेष पहलमा नगर क्षेत्रमा विद्युत् ट्रान्सफर्मर जडान कार्य भइरहेको हो । कम भोल्टेज समस्या भोगिरहेका अर्जुनधाराबासी अब उक्त समस्याबाट मुक्त हुने भएका छन् ।
पहिलो चरणमा अर्जुनधारा नगरपालिका–१, २, ३, ४ र ८ नम्बर वडामा विभिन्न क्षेत्रमा ट्रान्सफर्मर जडान कार्य भइरहेको छ । विद्युत् प्राधिकरणका प्राविधिक कमल रायले अर्जुनधाराका विभिन्न वडामा सिञ्चाइ मोटर जडान गरिएकाले ग्राहक संख्या पनि धेरै भएकाले भोल्टेज समस्या देखिएको बताउनुभयो । “हामीसँग बजेट कम थियो, मेयर साबको पहलमा थप बजेट ल्याएर काम गरिरहेका छौं”, उहाँले भन्नुभयो, “आवश्यकताको आधारमा विभिन्न स्थानमा ५० देखि २०० केभीको ट्रान्सफर्मर जडान भइरहेको छ ।”

लोड बढी भएर कम भोल्टेज आउने स्थानमा आठ वटा ट्रान्सफर्मर जडान गरिएको उहाँले बताउनुभयो । पाँचदेखि सात दिनभित्रमा ट्रान्सफर्मर जोडिसकेर विद्युत् प्रवाह हुने उहाँको भनाइ छ । ट्रान्सफर्मर जडानपछि यहाँका किसान, उद्योगी लगायत सबै नगरबासीलाई राहत मिल्ने भएको छ ।
अर्जुनधारा–८ का वडा सदस्य ऋषिप्रसाद घिमिरेले ट्रान्सफर्मर जडानपछि स्थानीयबासीलाई राहत हुने विश्वास व्यक्त गर्नुभयो । अर्जुनधारा–८ का अर्का स्थानीयबासी टंकप्रसाद घिमिरेले भोल्टेज नभएर धेरै वटा भूमिगत सिञ्चाइहरु बन्द अवस्थामा रहेको बताउनुभयो । उहाँले भोल्टेज समस्या समाधन भए किसानलाई धरै राहत मिल्ने बताउनुभयो ।
दोस्रो चरणमा नगरपालिकाले यहाँका ११ वटै वडामा भोल्टेज सुधारको काम गर्ने योजनाका साथ काम गरिरहेको अर्जुनधारा नगपालिकाका प्रेस संयोजक आकाश खतिवडाले बताउनुभयो ।



