
झापा, २१ बैशाख । हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने अभियान शुरु भएको १३ वर्ष भयो । सन् २०१२ देखि नै झापा जिल्लामा हात्तीपाइले रोगबिरुद्धको औषधि खुवाउने अभियान शुरुवात भएको हो । तर, हालसम्म झापा हात्तीपाइले रोगमुक्त जिल्ला हुन सकेको छैन । यसो हुनुको प्रमुख कारण शिक्षित वर्गले नियमित औषधि सेवन नगर्नु रहेको बताइन्छ ।
अभियान अन्तरगत हात्तीपाइले बिरूद्धको औषधि खाएको भए ६ पटकसम्म सञ्चालन भएर यो अभियान स्थगित हुनु पर्ने थियो तर सबै नागरिकले यस रोगको औषधि नखाएकै कारण १३ वर्षसम्म अभियान सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कोशी प्रदेशको सबैभन्दा शिक्षित जिल्लाका रुपमा चिनिएको झापा औषधि सेवनको सन्दर्भमा भने सबैभन्दा पछाडि परेको छ । प्रदेशका १३ जिल्लामा हात्तीपाइले रोग उन्मुलन भइसक्दा समेत झापामा यो रोगको संक्रमित फेला परेसंगै सरकारले यो वर्ष अन्तिमपटक नारा दिएर झापासहित देश भरका सातवटा जिल्लामा यो अभियान सञ्चालन गरिरहेको छ । गत वैशाख १६ गतेबाट शुरु भएको अभियान वैशाख २५ गतेसम्म सञ्चालन हुँदैछ । जसमा झापाका १५ वटै पालिकामा औषधि खुवाउने कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

अभियान अन्तरगत अहिले औषधि खुवाउन झापाका १५ वटै स्थानीय तहका टोल–टोलमा स्वास्थ्यकर्मी सहित महिला स्वास्थ्य स्वयसेविका परिचालित छन् । उनीहरुले घर–घरमा पुगेर हात्तीपाइले
रोग विरुद्धको औषधि सेवन गराइरहेका छन् । तर, गलत बुझाइका कारण अधिकांशले हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको हो । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउनका लागि बिर्तामोड –१ मा खटिएकी महिला स्वास्थ्य स्वयसेविका निरु भेटुवाल सापकोटाका अनुसार अधिकांश शिक्षित समुदायले यो औषधि सेवनका क्रममा सरकारले परीक्षणका लागि पठाएको औषधि नखाने बताउने गरेका छन् । तर, उनीहरुलाई सम्झाइ–बुझाइ गरेपछि अन्कनाउँदै औषधि खाने गरेको सापकोटाको भनाइ छ । कतिपयले औषधि यसअघि नै खाएको भन्दै ढाट्ने गरेका छन् भने कतिपयले रिंगटा लाग्ने, वान्ता हुने जस्ता बहाना देखाउँदै औषधि खान हिच्किचाउने गरेको उनको भनाइ छ । आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



