
झापा, २३ वैशाख । झापाको कचनकवल गाउँपालिकामा रहेको दिपज्योति सामुदायिक बनको निर्वाचन सम्वन्धि विवादले त्यहाँ भएको आर्थिक अपचलन तथा काठको हिनामिना बाहिर आएको छ । २०८० साल असोजमा म्याद सकिएको समितिले हालसम्म साधारण सभा तथा निर्वाचन समेत गर्न नसकेको बन समितिका सल्लाहाकार तथा पूर्व अध्यक्ष लक्षमण राईले आरोप लगाएका छन् ।
२०८० माघ २७ गतेको बनको साधारण सभाले १५ दिन भित्रमा निर्वाचन गर्नु पर्ने माइन्युट दिए पनि प्रतिनिधि विवादले आजका दिनसम्म पनि नयाँ कार्य समिति चयन हुन सकेको छैन भने त्यहाँ आर्थिक अनियमितता भएको भन्दै उपभोक्ताहरुले विरोध जनाउँदै तुरुन्त विशेष साधारण सभाको आह्वान गर्न समितिलाई र जिल्ला डिभिजन बन कार्यालयलाई आह्वान गर्दा समेत वेवास्ता गरेको उपभोक्ताहरुको गुनासो छ ।
सामुदायि बनको भवनमा आज बोलाइएको छलफल कार्यक्रममा पुगेका संचारकर्मीलाई समेत त्यहाँका पदाधिकारीहरुले कुनै जवाफ नदिइ घर फर्किएका थिए । समितिका सचिव पुष्पा घिमिरे (कार्की )वैठक कोठाबाट संचारकर्मीले सोधेको प्रश्नको जवाफ नदिई स्कुटर चढेर घरतर्फ लागेकी थिइन भने समितिका अध्यक्ष हरि प्रसाद लिम्बुले टेलिफोन मार्फत आफूलाई पत्रकार आएको थाहा नभएको र हतार भएको कारण पछाडीको ढोकाबाट घर गएको र आफू पत्रकारसँगको सम्वादबाट नभागेको बताएका छन् । उनले टेलिफोनमा एक सञ्चार माध्यमसँग कुरा गर्दै भनेका छन् समितिले विधान संवत काम गरेको र आफुूले राजिनाम दिदा निकाश निस्किन्छ भने राजिनामा दिन तयार रहेको साथै कुनै पनि आर्थिक हिनामिना आफूबाट नभएको बनाएका छन् । जिल्ला डिभिजन बन कार्यालय र स्थानिय बन महासंघले दिएको निर्देशन अनुसार आफूले काम गरिरहेको समेत उनले बताएका छन् ।
साधारण सभा र निर्वाचन प्रकृयामा विवाद आएपछि कचनकवल वडा नं–७ का अध्यक्ष भरत राजवंशीको संयोजकतामा छानविन समिति गठन भइ प्रतिवेदन समेत बुझाएकोमा समितिले त्यसको वेवास्ता गरेको बताउदै पेलेर जान खोजे आम उपभोक्ताहरुले सामुदायिक बनको कार्यालयमा तालाबन्दि गर्ने चेतावनि दिएका छन् । वडा अध्यक्ष राजवंशीले दिएको प्रतिवेदनमा १५ दिन भित्रमा निर्वाचन गर्न सुझाव दिए पनि समितिले त्यसलाई नमान्ने बताउँदै स्थानिय सरकारको समेत धज्जी उडाएको छ । झापाकै सामुदायिक बनहरुमा दोस्रो नम्बरमा रहेको दिपज्योजि सामुदायिक बनको विवादका कारण त्याहाँ कार्यरत २ जना बन हेरालुहरुले ४ महिनादेखी तलब समेत नपाएको गुनासो गरेका छन् । करिव ७९.७५ हेक्टरमा फैलिएको बनमा ६ सय भन्दा बढि उपभोक्ता रहेका छन् भने ७ वटा समूहसमेत रहेको पाइन्छ ।


