
चन्द्र बस्नेत
कनकाई, २६ बैशाख । झापाको कनकाईमा ८० प्रतिशतभन्दा बढी नगरबासीले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् ।
गत बैशाख १६ गतेदेखि शुरु भएको हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान अन्तरगत नवौं दिनसम्ममा कनकाईका ८०.७४ प्रतिशतले औषधि सेवन गरेको कनकाई नगरपालिकाका जनस्वास्थ्य अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । कनकाई नगरको कुल जनसंख्या ५३ हजारमध्ये अहिलेसम्ममा २३ हजार ८० जना महिला र २० हजार ६ सय ९१ जना पुरुष गरी ४३ हजार ७ सय ७१ जनाले औषधि खाएको उहाँले बताउनुभयो । यो कूल जनसंख्याको ८० दशमलव ७४ प्रतिशत हो ।
यता, नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अझै ३–४ दिन समय रहेकाले औषधि सेवन गरेर रोगबाट बच्न नगरबासीलाई आग्रह गर्नुभएको छ । हात्तीपाइले रोगविरुद्धको औषधि अन्य समयमा बिरामी पर्दा पनि खाने गरिएको बताउँदै उहाँले कुनै पनि भ्रममा नपरी औषधि सेवन गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो ।
हरेक क्षेत्रमा अब्बल कानकाई नगरपालिकालाई हात्तीपाइले रोगविरुद्धको अभियानमा समेत शतप्रतिशत औषधि सेवन गरेर अब्बल र उदाहरणीय बनाउन उहाँले सबै नगरबासीमा अपिल गर्नुभएको छ।
कनकाईमा अभियान सफल बनाउन कार्ड प्रणाली लागू गरिएकाले औषधि सेवन नगर्ने नगरबासीलाई नगरले उपलब्ध गराउने सेवा सुविधाबाट बञ्चित गरिने उहाँको भनाइ छ । औषधि सेवन गरे कुनै प्रकारको समस्या देखिएमा त्यसका लागि नगरले औषधोपचारका लागि सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



