
बिर्तामोड, २७ बैशाख । झापाको बिर्तामोडमा पाठेघर खस्ने (आङ खस्ने) समस्या सम्बन्धी अन्तरक्रिया भएको छ ।
हेल्थ नेपाल मिडिया प्रालिको आयोजना र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकुको आयोजनामा आज यहाँको पत्रकारहरुसँग अन्तरक्रियामा भएको हो । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाले खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताउनुभयो । “विभिन्न ठाउँमा भएका स्वास्थ्य शिविरमा आउने महिलाहरु ढाड दुख्ने समस्या भो, दिसा राम्ररी आउँदैन, यी र यस्तै कुरा मात्र भन्नुहुन्छ”, सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “लजाउने र समस्या खुलस्त नराख्नाले समस्या बढ्दै गएको छ ।” समयमै समस्या बारे नभन्दा क्यान्सरसम्मको अवस्थामा पुग्ने गरेको उहाँले बताउनुभयो ।
धेरै सन्तान जन्माउँदा, सुत्केरी व्यथा लम्बिँदा, ठूलो बच्चा जन्माउँदा, अव्यवस्थित खानपान–जीवनशैलीका लगायतका कारण पाठेघर खस्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘समसयमै थाहा भयो भने औषधि खाँदा र अन्य उपायबाटै उपचार सम्भव छ, शल्यक्रिया नै गर्नुपर्दैन ।’
धरै पटक पिसाब लागे पनि नआए यो रोगको सुरुवाती लक्षण भनेर बुझ्नुपर्ने उहाँले बताउनुभयो । ‘पिसाब लाग्ने तर, नआउने भएमा पिसाब जमेर संक्रमण फैलिन सक्छ, यस्ता लक्षण देखिए सजग हुनुपर्छ ।’, उहाँले भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष भिषा काफ्लेले विशेषगरी पहाडी र ग्रामीण भेगमा डेढ दशकअघिसम्म विकराल समस्या बनेको यो समस्या पछिल्लो समय तराईमा बढ्दै गएको बताउनुभयो । यो समस्या निदानका लागि सरकारले नीतिगत व्यस्था गरेरै अघि बढेको उहाँले बताउनुभयो । संविधानमा मौलिक हकको रुपमा प्रजनन् रोगलाई राखिएको उहाँले बताउनुभयो । “हरेक सरकारी स्वास्थ्य संस्था र आमा सुरक्षा कार्यक्रम लागू भएको स्वास्थ्य संस्थामा यसको निशुल्क उपचारको व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “प्रजनन् रोगको निदानका लागि बजेटको व्यवस्था गर्नुपर्ने ऐनमै व्यवस्था छ ।” हरेक स्थानीय तहले समेत बजेटको व्यवस्था गर्नै पर्ने उहाँले बताउनुभयो ।
पाठेघरको क्यान्सर रोग रोकथामका लागि सरकारले एचपीपी खोप लगाउने तयारी समेत गरिरहेको अन्तरक्रियामा जानकारी दिइयो । कार्यक्रमको सहजीकरण हेल्थ आवाज अनलाइनका सम्पादक जनक तिमिल्सिनाले गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष सुशीला संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरुले पाठेघर खास्ने रोगका बारेमा जिज्ञासा राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



