
बनियानी, १६ जेठ । झापामा आजदेखि पोलियो रोगविरुद्धको आइपीभी खोप अभियान शुरु भएको छ ।
पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका ४५ हजार छ सय ४८ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । आजदेखि शुरु भएको खोप अभियान २२ गतेसम्म सञ्चालन हुनेछ ।
खोप अभियानमा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा अभियान सम्पन्न गर्न पाँच सय ५२ खोप केन्द्रमा चार सय ९४ खोप दिने स्वास्थ्यकर्मी र आठ सय ३६ जना स्वयम्सेवक परिचालित भएका छन् । एक जनाले १२५ जना बालबालिकालाई खोप लगाउने जनाइएको छ ।
बालबालिकालाई एक मात्रा खोप लगाएर पोलियो रोगविरुद्धको प्रतिरोधात्मक क्षमता बृद्धि गर्नु नै अभियानको मुख्य लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले बताउनुभयो ।
सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ । पोलियो उन्मुलनको प्रमुख उपाय नै खोप भएकाले लक्षित सबै वर्गलाई खोप लगाउन निमित्त प्रमुख बाराकोटीले आग्रह गर्नुभयो ।
पोलियो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्ने भए पनि पाँच वर्ष मुनीका बालबालिलाई बढी जोखिम हुन्छ । यो भाइरसको संक्रमण दुषित पानी र खानाबाट सर्ने गर्दछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



