
बिर्तामोड, १७ जेठ । वीरता लेडी जेसीजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडसँगको सहकार्यमा लेडी जेसीजले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
झापामा रगतको अभाव बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । झापाका प्रहरी प्रमुख मिलन केसीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । लेडी जेसीजकी महासचिव मुना ढुंगेलका अनुसार कार्यक्रममा १० महिलासहित ३३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा अर्जुनधारा वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश बिष्ट, प्रहरी निरीक्षक ढुण्डीराज गिरी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका पूर्व अध्यक्ष सजेश शिवाकोटी, संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना सिटौला, पूर्व अध्यक्षहरु पार्वता बिमली र राधा सुब्बा, निवर्तमान अध्यक्ष संगीता गिरी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा अस्मिता राईले आस्था र प्रियंका उप्रेतीले मिसन भिजन प्रस्तुत गरेका थिए । चन्द्रकला रिजालको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग उपलब्ध गराएको छ । यसअघि लेडी जेसीजले झापाको अर्जुनधारा ६ स्थित लक्ष्मी माध्यमिक विद्यालयबाट लागूऔषधविरुद्ध विद्यालय सचेतना कार्यक्रम सुरु गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



