
सन्तोष शर्मा
भद्रपुर, ३० जेठ । झापाका स्वास्थ्य बिमा सहयोगी विभिन्न माग राख्दै स्वास्थ्य बिमा बोर्डको कार्यालयमा धर्ना दिएका छन् ।
पारिश्रमिक बृद्धि, १५ प्रतिशत कर खारेजी, नियमित पारिश्रमिक पाउनुपर्ने लगायतको माग गर्दै उनीहरुले स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय झापामा विरोध प्रदर्शन गर्दै धर्ना दिएका हुन् । बिमा सहयोगीहरुले कार्यालय प्रमुख लक्ष्मी कणेललाई मागसहितको ज्ञापन– पत्र बुझाएका छन् ।

बिमा बोर्डको कार्यालय परिसरमा बिमा सहयोगीहरुले ‘साह्रै पर्यो बिमा बोर्ड आइँदैछ, ताला लगाइँदैछ’, ‘१० प्रतिशत पारिश्रमिकमा १५ प्रतिशत कर मान्य छैन’, ‘२० प्रतिशत पारिश्रमिक निर्धारण गर’ लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
बिमा सहयोगी रुमिला राईले धेरै दबाब र समस्याका बीच बिमा सहयोगीहरुले काम गर्नुपरेको गुनासो गर्नुभयो । “वर्ष दिनसम्म पनि पारिश्रमिक पाएको अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसमा पनि एक प्रतिशत कर काटिँदै आएकोमा १५ प्रतिशत पुगेको छ ।”
सरकारले लोकप्रिय कार्यक्रममा रुपमा सञ्चालन गरेको स्वास्थ्य बिमाको आधार स्तम्भका रुपमा रहेको बिमा सहयोगीलाई अपहेलना गरेको अर्का बिमा सहयोगी रुपक राजवंशीले आरोप लगाउनुभयो । “बिमा कार्यक्रमलाई सफल बनाउन बिमा सहयोगीहरुले धेरै मेहेनत गरेका छन्”, उहाँले भन्नुभयो, “अहिले बिमा सहयोगीलाई प्रयोग गरेर फाल्न खोजेजस्तो देखिन्छ ।”
आफ्ना माग सरोकारवाला निकाय समक्ष माग राख्दा सुनुवाइ नभएपछि बाध्यवश विरोध प्रदर्शनमा उत्रिएको सहयोगी अनिल गौतमले बताउनुभयो । २०७४ सालदेखि झापाका सबै वडामा दर्ता सहयोगी नियुक्त गरेर ५० प्रतिशतसम्म घरधुरीको बिमा गराएवापत १० प्रतिशत प्रोत्साहन रकम दिने घोषणा गरेको बताउनुभयो । “५० प्रतिशतभन्दा माथि हुँदा १५ प्रतिशत दिने भने पनि त्यो कार्यान्वयनमा आएको छैन”, उहाँले भन्नुभयो, “तोकिएको दश प्रतिशत पनि समयमै पाएको अवस्था छैन ।”
झापामा एक सय ७६ जना स्वास्थ्य बिमा सहयोगी रहेको स्वास्थ्य बिमा बोर्ड झापाका प्रमुख लक्ष्मी कणेलले बताउनुभयो । जिल्लामा सात लाख १३ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएको बताउँदै उहाँले भन्नुभयो, “झापा मुलुकमै सबैभन्दा धेरै स्वास्थ्य बिमा गर्ने जिल्ला हो ।”
चालू आवमा स्वास्थ्य बिमा सहयोगीको रू ६८ लाख ८३ हजार भुक्तानी गर्न बाँकी रहेको र सोमा कर कटाएर ५८ लाख ६२ हजार भुक्तानी दिन आदेश आएको उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



