
सन्तोष शर्मा
झापा, ५ असार । झापा गाउँपालिकाको आधारभूत अस्पतालमा यतिबेला सुत्केरी गराउनेको संख्या बृद्धि भएको छ ।
सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाले बर्थिङ सेन्टरमा आवश्यक उपकरण उपलब्ध गराउनुका सागै स्वास्थ्यकर्मीलाई तालिम दिएपछि यहाँ सुत्केरी गराउनेको संख्या बढेको हो । बर्थिङ सेन्टरमा गत वर्ष १२ जनाले प्रसुती सेवा लिएका भने यो वर्ष उक्त सेवा लिनेको संख्या ५९ पुगिसकेको छ । विश्वास परियोजनाले उपेक्षित उष्ण प्रदेशीय रोगको नियन्त्रण र मातृ–शिशू स्वास्थ्यको क्षेत्रमा काम गर्दैै आएको छ ।

‘यसअघि बर्षमा मुस्किलले ११–१२ जनाले सेवा लिन्थे’, झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले भने, ‘यो वर्ष पाँच गुणा बढीले सेवा लिएका छन् ।’ बर्थिङ सेन्टरमा सुविधा थपिएपछि बर्थिङ सेन्टरप्रति स्थानीयबासीमा विश्वास बढेको उनको भनाइ छ ।

कोशी प्रदेश सरकारले मेसिन दिनएपछि बर्थिङ सेन्टरबाट हाल ग्राभिण भिडियो एक्स–रे सेवा समेत शुरु भएको छ । प्रसुती सेवा लिनका लागि बिर्तामोड, भद्रपुर, दमक लगायतका स्थान जानुपर्ने बाध्यता हटेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् । ‘अब गाउँपालिकाले प्रसुतीका लागि आवश्यक सबै सेवा निःशुल्क दिन्छ’, उनले भनिन् ।
आधारभूत अस्पतालमा सुत्केरीसँगै कुष्ठरोगको समेत चेकजाँच शुरु भएको छ । सात जनाको परीक्षण गर्दा दुई जनामा कुष्ठरोग फेला परेको अस्पतालका ल्याब असिस्टेन्ट अमनकुमार चौधरीले बताए ।
अस्पतालमा बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने करिब आठ लाख रुपैयाँको सामग्री प्रदान गरिएको विश्वास परियोजनाका प्रोग्राम को–अर्डिनेटर पवन राईले जानकारी दिए । ‘सुरक्षित प्रसुती गराउनका लागि तीन जना नर्सलाई आवश्यक तालिम दिएका छौं’, उनले भने, ‘कुष्ठरोग परीक्षणका ल्याब टेक्निसियनलाई तालिम दिइएको छ ।’
सुरक्षित प्रसुतीका लागि स्वास्थ्य आमा समूह
ग्रामीण भेगको मानिसमा स्वास्थ्य चेतना बृद्धि गर्न स्वास्थ्य आमा समूह प्रभावकारी देखिएको छ । विश्वास परियोजनाको सहयोगमा स्थानीयबासीमा जनस्वास्थ्यसँग सम्बन्धी सचेना अभिबृद्धिका लागि स्वास्थ्य आमा समूह गठन गरिएपछि अस्पतालमा प्रसुती गराउने संख्या बृद्धि भएको छ भने हात्तीपाइले, खोप अभियान समेत सफलता उन्मुख बन्दै गएका छन् ।
झापा गाउँपाालिका–१ मा लसुना स्वास्थ्य आमा समूहकी अध्यक्ष सुमित्रा गणेशले समूहको माध्यमबाट गाउँका गर्भवती र सुत्केरी महिलाको पहिचान गरिएको बताइन् । ‘सुत्केरी, गर्भवतीहरुको घरलाई विभिन्न रंगले इंगित गरेर छुट्याएका छौं’, उनले भनिन्, ‘यसले उनीहरुको घर, अवस्था पत्ता लगाउन सहज भएको छ ।’ पछिल्लो समय झापा गाउँपालिकामा मातृ–शिशु मृत्युदर शून्यमा झरेको छ ।
उनीहरुमा स्वयम् हेरचाह तालिम, तरकारी खेती तालिम दिएपछि उनीहरुको दैनिकी फेरिएको छ । विगतका वर्षमा औषधि सेवन गर्न नमान्ने यहाँका स्थानीयबासीले मध्ये ९५ प्रतिशतले औषधि सेवन गरेको करुणा फाउण्डेशनका अंकित पाठकले बताए ।
हात्तीपाइले रोगीलाई तालिमसँगै व्यवसायिक बनाइँदै
झापाको बाह्रदशी गाउँपालिका–३ राधानगरमा एक सय ५० परिवारको बसोबास छ । ती परिवारमध्ये २९ परिवारमा हात्तीपाइलेका रोगी रहेका छन् ।

‘तालिमसँगै उनीहरुलाई बिऊ पुँजी र स्वास्थ्योपचारका लागि १२ हजार दिइएको छ’, उनले भने, ‘उपचारसँगै स्वरोजगार बनाउने प्रयास भइरहेको छ ।’
हात्तीपाइले रोगी नुतन साहले औषधि खानुपर्ने स्थानीयबासीमा औषधि सेवन गर्नुपर्ने चेतनाको विकास हुँदै गएको बताइन् । उनले आफूहरुले उत्पादन गरेको तरकारी झापाका विभिन्न स्थानमा साथै काठमाडौंसम्म पुग्ने गरेको सुनाउँदै तरकारी उत्पादनका लागि आवश्यक टेनलको आवश्यक परेको बताइन् ।

परियोजना सल्लाहकार समितिले गर्यो अनुगमन
विश्वास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिले बुधबार परियोजनाको स्थलगत अनुगमन गरेको छ ।
समितिका अध्यक्ष जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालले स्थलगत रुपमै परियोजनाले गरेको काम देखेर आफू सन्तुष्ट भएको बताए । ‘कागज मिलाएर त खाने हो नि भन्ने लाग्थ्यो’, स्थलगत अनुगमनपछि उनले भने, ‘त्यस्तो होइन रहेछ, जिल्लाका ग्रामीण र विकट स्थानमा परियोजनाले गरेको काम देखेर खुसी लाग्यो ।’ उनले आगामी दिनमा समेत स्वास्थ्य सेवाबाट बञ्चित नागरिकको पक्षमा काम गर्न आग्रह गरे ।

झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, राजनीतिकर्मी जयनारायण शाह, जिल्ला समन्वय समितिका निमित्त प्रमुख विक्रम लिम्बू, सहारा नेपालका सञ्चालक समिति सदस्य ध्यानबहादुर भारती, फेयरमेडका सञ्जेस श्रेष्ठ, प्रमिला पराजुली, गैसस महासंघका प्रतिनिधि गंगा घिमिरे नेपाल लगायतको टोलीले परियोजनाको अनुगमन गरेको थियो ।
यसैबीच, बुधबार नै परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको छ । भद्रपुरको जिल्ला समन्वय समितिको सभाहलमा समितिका अध्यक्ष जिसस प्रमुख बरालको अध्यक्षतामा बैठक बसेको हो । प्रमुख बरालले जिल्लामा दुई सय बढी एनजीओ भए पनि नीतिगत व्यवस्था भए पनि सहकार्यका लागि दुई वटा भन्दा बढी संस्था सहकार्य गर्न नआएको बताए ।
बैठकमा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले सरकारले गर्नुपर्ने काम गैर सरकारी संस्थाबाट हुनु सुखद् भएको बताए । गैर सरकारी संस्थामार्फत् सञ्चालित परियोजना सम्पन्न हुने क्रम पुग्दा सोको निरन्तरताका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोडदिनुभयो ।

त्यस्तै, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले हात्तीपाइले, कुष्ठरोग, खोप लगायतका कार्यक्रममा विश्वास परियोजनाको सहयोगले अभियानमा सफलता मिलेको बताए भने सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले कार्यक्रमले जनस्तरमा पारेको प्रभावका बारेमा अनुगमन गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले विश्वास परियोजनाको सहयोगले हात्तीपाइले, कुष्ठरोग, खोप अभियान सफल बनाउन मद्दत मिलेको बताए । लामखुट्टेजन्य रोग नियन्त्रणका लागि औषधियुक्त झुल वितरण गर्न सुझाव दिए ।
बैठकमा स्वागत गर्दै सहारा नेपालका सञ्चालक समिति सदस्य ध्यानबहादुर भारतीले समाजमा हात्तीपाइले लगायतका रोगहरु गुप्त अवस्थामा रहेकाले सोको निदानका लागि औषधि सेवन गर्नुपर्नेमा जोड दिए । ‘हाइड्रोसिल भन्दै भारतमा गएर पानी निकालेर आउने गरेको मैले देखेको छु’, उनले भने, ‘मानिसमा चेतना स्वास्थ्यमा जोखिम बढिरहेको छ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



