
अर्जुनधारा, ७ असार । झापाको अर्जुनधारा–५ फूलबारीस्थित शहरी स्वास्थ्य केन्द्रको आयोजनामा एक दिने विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अर्जुनधारा–५ नं. वडा कार्यालयको आर्थिक सहयोग र अर्जुनधारा–९ स्थित शनिश्चरे अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर वडामा रहेका महिलाहरुलाई लक्षित गरी सञ्चालन गरिएको वडाध्यक्ष गीताराज खड्काले जानकारी दिए ।
शिविरमा विशेषज्ञसहितको सेवासँगै गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण, रगत तथा पिसाब परीक्षण, महिला स्वयम्सेविकाहरुलाई स्वास्थ्य सामग्री दुई थान बिपी सेट र दुई थान थर्मोमिटर वितरण गरिएको केन्द्रका प्रमुख रोशन बस्नेतले जानकारी दिए ।
अस्पतालका डाक्टरद्वय डा. दीपा बखती र डा. सन्तोषकुमार शाहले स्वास्थ्य परीक्षण गरेको शिविरमा ८० जनाभन्दा बढीले सेवा लिएको बताइएको छ । सोही कार्यक्रममा वडाको उत्कृष्ट महिला स्वयम्सेविका सम्मानबाट तारा सापकोटालाई सम्मान गरिएको थियो । वडाध्यक्ष खड्काको अध्यक्षता र अस्पतालका डा.शाहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन केन्द्र प्रमुख बस्नेतले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



