
सन्तोष शर्मा
झापा, ७ असार । झापाको कचनकवलस्थित सर्पदंश उपचार केन्द्र बनियानीमा साढे छ सय बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
केन्द्रमा पछिल्लो चार वर्षमा ७५ जना भारतीय नागरिकसहित छ सय ५३ जना सर्पदंशका बिरामीको उपचार गरिएको कचनकवल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नविन मिश्रले जानकारी दिनुभयो । उपचार गरिएका बिरामीमध्ये ४८ जनालाई विषालु र छ सय चार जनालाई अविषालु सर्पले टोकेको उहाँले बताउनुभयो ।
“अहिलेसम्म केन्द्रमा उपचारका लागि आएका एक जनाको बिरामीको पनि मृत्यु भएको छैन”, उहाँले भन्नुभयो, “जटिल प्रकारका बिरामीलाई थप उपचारका लागि रेफर गर्दा केही बिरामीको मृत्यु भएको छ ।” जटिल प्रकारका बिरामीलाई भेन्टिलेटर आवश्यक पर्ने भएकाले केन्द्रमा उक्त सुविधा नहुँदा रेफर गर्ने गरेको उहाँको भनाइ छ । केन्द्र स्थापना हुनु अघि सर्पको टोकाइबाट बर्सेनि पाँच/छ जनाको मृत्यु हुने गरे पनि हाल त्यस्तो नरहेको उहाँलको भनाइ छ ।
माग अनुसार ‘एन्टी स्नेक भेनम’ प्राप्त हुनुका साथै तालिम प्राप्त दक्ष जनशक्ति भएकाले उपचारमा समस्या नभएको केन्द्रले जनाएको छ । तर, सर्पदंश उपचारलाई अझ सुविधासम्पन्न र विशिष्टीकृत बनाउनुपर्ने आवश्यता छ ।
कचनकवल झापाको सर्पदंश प्रभावित स्थानीय तहमध्ये एक हो । सर्पदंशबाट मानिसको मृत्यु संख्या बढेपछि यहाँ २०७८ साल असार ३ गते सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो । केन्द्र स्थापना भएयता उपचारका क्रममा एक जना बिरामीको पनि मृत्यु भएको छैन ।
केन्द्रमा चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म ४५ जना भारतीय नागरिकसहित एक सय १८ जना सर्पदंशका बिरामीलाईको उपचार गरिएको छ भने गत आव २०७९/८० मा दुई सय २४ जना सर्पदंशका बिरामी केन्द्रमा उपचारका लागि आएका थिए ।
त्यसैगरी, आव २०७८/०७९ मा दुई सय ३४ र आव २०७७/०८७ मा ७७ जना सर्पदंशका बिरामीले केन्द्रबाट उपचार सेवा लिएका छन् ।
कचनकवलसँग सीमा जोडिएको छिमेकी पालिकाका साथै भारतको सीमावर्ती क्षेत्रबाट सर्पदंशका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । केन्द्रबाट छ जनाको स्वास्थ्यकर्मीको टोलीले २४ सैं घण्टा बिरामीको उपचार गर्दै आएका छन् ।
झापामा सर्पदंश उपचार केन्द्र बनियानीसँगै सर्पदंश उपचार केन्द्र चारआली, नेपाल रेडक्रस सोसाइटी सर्पदंश उपचार केन्द्र दमक र सामुदायिक सर्पदंश उपचार केन्द्र सुरुङ्गाबाट सर्पदंशका बिरामीको उपचार हुँदै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



