
सन्तोष शर्मा
झापा, ९ असार । झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् ।
पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक प्रकाश पाठकले जानकारी दिनुभयो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर गत जेठ १६ गतेदेखि २६ गतेसम्म अभियान सञ्चालन भएको थियो ।
जिल्लामा लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । ४५ हजार छ सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि एक हजार दुई सय ३४ जना बढी बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो ।
आइपीभी खोप अभियान अन्तरगत जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १४५ प्रतिशत अर्थात् आठ हजार एक सय १७ जना बालबालिकाले खोप लगाएका छन् भने सबैभन्दा कम भद्रपुर नगरपालिकामा ६१ प्रतिशत अर्थात् दुई हजार तीन सय १४ जना बालबालिकाले खोप लगाएका छन् । भद्रपुरमा तीन हजार आठ सय ९२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।
त्यस्तै, अर्जुनधारा नगरपालिकामा तीन हजार ८५ (१०९ प्रतिशत), कनकाई नगरपालिकामा दुई हजार पाँच सय ८६ (११० प्रतिशत), गौरादह नगरपालिकामा तीन हजार ३८ (९८ प्रतिशत), दमक नगरपालिकामा पाँच हजार छ ९३ (११० प्रतिशत), मेचीनगर नगरपालिकामा पाँच हजार दुई सय ४६ (९४ प्रतिशत), शिवसताक्षी नगरपालिकामा ती हजार चार सय ९९ (१०४ प्रतिशत), कचनकवलमा एक हजार सात सय दुई (१०४ प्रतिशत), कमल गाउँपालिकामा दुई हजार चार सय ४२ (११७ प्रतिशत), गौरीगञ्ज गाउँपालिकामा एक हजार सात सय २७ (१०७ प्रतिशत), झापा गाउँपालिकामा एक हजार नौ सय ९४ (१०४ प्रतिशत), बाह्रदशी गाउँपालिकामा एक हजार छ सय २४ (८२ प्रतिशत), बुद्धशान्ति गाउँपालिकामा दुई हजार तीन सय २० (९९ प्रतिशत) र हल्दिबारी गाउँपालिकाले एक हजार चार सय ५४ (८७ प्रतिशत) बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लामा समग्रमा एक सय तीन प्रतिशत प्रगति हासिल भएको कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले बताउनुभयो ।
खोप अभियानका लागि झापामा पाँच सय ५२ खोप केन्द्र, तीन सय ७५ स्वास्थ्यकर्मी र ७ सय ५० जना स्वयम्सेवक परिचालित भएका थिए । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



