
बनियानी, १८ असार । झापाको कचनकवल गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी भइरहेको छ ।
कचनकवल गाउँपालिका–६ बनियानीमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भइरहेको छ । गाउँपालिकाले १५ शैय्याका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्थानीय तहलाई पठाई सकेको छ ।
मेडिकल जनरलिस्ट तह ९ वा १० एक जना, आठौं तहको मेडिकल अधिकृत दुई जना, स्टाफ नर्स ६, हेल्थ असिस्टेन्ट ४, आयुर्वेद सहायक १, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेण्टल हाइजिनिष्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, नायब सुब्बा प्रशासन १–१, कार्यालय सहयोगी ६ र सरसफाइकर्मी ३ गरी ३० जनाको दरबन्दी व्यवस्था गरेको छ ।
कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममै आधारभूत अस्पताल सञ्चालनमा ल्याउने नीति पारित गरेसँगै अक्सिजन प्लान्ट सञ्चालन, भवन निर्माण कार्य र रङ्गरोगन अन्तिम चरणमा पुगेको छ। सञ्चालन र व्यवस्थापनको सवालमा भने पालिकालाई चुनौती देखिन्छ । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिह राजवँशीले भन्नुभयो, “आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । तर, मापदण्डअनुसारको सञ्चालनको सवालमा स्थानीयतहले मात्र सक्ने अवस्था छैन । हामी केन्द्र र प्रदेशमा समन्वय गरिरहेका छौं ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



