
भद्रपुर, २० असार । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनका लागि झापाको भद्रपुर नगरपालिका र करुणा फाउण्डेशनबीच सम्झौता भएको छ ।
भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिका र फाउण्डेशनबीच अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमका लागि सम्झौता भएको हो । कार्यक्रममा दुवै पक्षबाट सम्झौता पत्र हस्ताक्षर गरिएको छ ।
सम्झौता पत्र हस्तारक्षपछि मन्तव्य राख्नुहुँदै नगर प्रमुख पोखरेलले परिणाम निकाल्ने गरी काम गर्ने बताउनुभयो । ‘हामी सबै लाग्यौं भने सफताल अवश्य मिल्छ’, उहाँले भन्नुभयो, ‘जनस्तरसम्म पुगेर यो कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्छु ।’

कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको उद्देश्य अनुसारको काम गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सेवा सुविधा नपाइने अवस्थाका कतिपय अपाङ्गता भएका व्यक्तिहरु परिचय पत्र लिन नचाहने उहाँले बताउनुभयो ।
कार्यक्रममा करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दीपकराज सापकोटाले न्यूनतम् लागतमा अपाङ्ग हुनबाट जोगाउन सकिने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई उत्पादनसँग जोडेर सम्मानजनक वातावरणमा बाँच्न सक्ने बनाउन कार्यक्रम उपयोगी रहेको उहाँले बताउनुभयो । अपाङ्गता रोकथाम तथा पुनस्र्थापनामा पालिकालाई सक्षम बनाउनका लागि सबै जिम्मेवारी स्थानीय सरकारलाई दिएको उहाँको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य मदन बोहोराले अपाङ्गता भएका मानिसलाई अवसर दिनुपर्नेमा जोड दिनुभयो । ‘अपाङ्गता भएका धेरैले अवसर पाउँदा गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन्’, उहाँले भन्नुभयो, ‘मात्र उनीहरुलाई अवसर चाहिएको छ ।’
कार्यक्रममा सहभागीलाई स्वागत गर्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले नगरमा आगामी ३ वर्षका लागि अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालनमा आउन लागेको बताउनुभयो । कार्यक्रमका लागि नगरपालिकाको दुई वर्षसम्म एक तिहाइ र तेस्रो वर्ष ५० प्रतिशत लागत सहभागिता हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रस्तुतीकरण दिनुहुँदै करुणा फाउण्डेशनका योगेन्द्र गिरीले करिब ६० प्रतिशत बालबालिका जन्मदोष लिएर जन्मिने गरेको बताउनुभयो । ‘जन्मजात अपाङ्गता न्यूनीकरण गर्नु र उनीहरुलाई समाजमा पुनस्र्थापित गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो’, उहाँले भन्नुभयो, ‘यो कार्यक्रमले नगरका एक चौथाइ नगरबासी लाभान्वित हुने अनुमान छ ।’
नगरपालिकाका सामाजिक शाखा प्रमुख जीवनकला राउतले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष हंशधर राजवंशी, वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, प्रशासन शाखा प्रमुख खेमराज प्रसाईं लगायतका कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
पछिल्लो राष्ट्रिय जनगणना अनुसार भद्रपुरमा १६३१ जना अपाङ्गता भएका मानिस छन् भने नगरपालिकामा ५९२ जना मात्र सूचीकृत छन् ।
नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशनको त्रिपक्षीय लागत सहभागितामा सञ्चालन हुने अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमका लागि भद्रपुरमा तीन वर्षको अवधिमा २ करोड २२ लाख ६५ हजार रुपैयाँ खर्च हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



