
झापा, २३ असार । झापाका स्वास्थ्य स्वयम्सेविकालाई नसर्ने रोगको शीघ्र पहिचान र रोकथाम सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ ।

झापाका चार वटा पालिकाका १५० जना स्वास्थ्य स्वयम्सेविकालाई नसर्ने रोगको शीघ्र पहिचान र रोकथाम सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको पाइलट कार्यक्रम अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका, गौरादह नगरपालिका र कनकाई नगरपालिकाका स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखीकरण प्रदान गरिएको हो । स्वास्थ्य स्वयम्सेविकाहरुको क्षमता अभिबृद्धि गर्दै नसर्ने रोगको रोकथाम गर्न प्रदेश सरकारको योजना अनुसार कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
अभिमुखीकरणका क्रममा स्वयम्सेविकाहरुलाई ब्लडप्रेसर र सुगर नाप्न सिकइएको हो । अभिमुखीकरणमा सहभागीमध्ये एक वटा वडाका दुई जना स्वयम्सेविकालाई एक/एक वटा ब्लड प्रेसर र सुगर नाप्ने मेसिन समेत प्रदान गरिएको स्वास्थ्य कार्यालय झापाका जनस्वाथ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताउनुभयो ।

स्वयम्सेविकालाई जनस्वाथ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जनस्वाथ्य अधिकृत प्रकाश पाठक, ल्याटेनि युवनाथ बराल, चन्द्र शेखर, सम्बन्धित पालिकाका स्वास्थ्य शाखा संयोजक लगायतले अभिमुखीकरण दिनुभएको थियो ।



झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



