
झापा, ८ साउन । झापासहित १० वटा जिल्लामा डेंगी संक्रमण दर उच्च देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं, झापा, चितवन, मकवानपुर, ओखलढुंगा, तनहुँ, भोजपुर, डोटी, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लामा उच्च संक्रमण रहेको जनाएको छ । महाशाखाले गत पुस १६ देखि साउन ३ गतेसम्मको तथ्यांक सार्वजनिक गरेको छ । जसमा १० जिल्लामा उच्च संक्रमण रहेको देखिएको छ ।
महाशाखाका अनुसार हाल देशका ७३ जिल्लाका १६ सय ५७ जनामा डेंगीको संक्रमण देखिएको छ। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा ५७० जना डेंगीको संक्रमण देखिएको छ । कोसीमा ३९६, गण्डकीमा २५६, लुम्बिनीमा १९६, सुदूरपश्चिममा १७५, मधेस प्रदेशमा ४१ र कर्णाली प्रदेशमा २३ जनामा डेंगीको संक्रमण भएको छ।
मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लामा भने हालसम्म डेंगी संक्रमण देखिएको छैन भने यसअघि संक्रमण नदेखिएको मुगु जिल्लामा अघिल्लो महिना २ जना संक्रमित भएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



