
झापा, २३ साउन । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौँ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेको उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगातार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।
खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो ।
खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्यो ।
नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो ।
फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


