
बनियानी, २७ भदौ । झापाको कचनकवल गाउँपालिका–३ मा रहेको अभिमुक्तेश्वर सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको अध्यक्षता समूहका अध्यक्ष राम प्रसाद खनालले गर्नुभएको थियो भने प्रमुख अतिथि कचनकवल–३ का वडा सदस्य सूर्यनारायण राजवंशी हुनुहुन्थ्यो ।
सभामा समूहका अध्यक्ष खनालले आफ्नो तीन वर्षको कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै समूहले गरेका प्रमुख गतिविधिहरूको विवरण पेश गर्नुभयो । उहाँले समूहलाई सुदृढ बनाउने, संरचनामा सुधार ल्याउने र वन संरक्षणका लागि कार्यान्वयन गरिएका योजनाहरूको बारेमा जानकारी दिनुभयो । उहाँले समूहलाई पाँच खण्डमा विभाजन गरी वन संरक्षणको रणनीति अघि बढाइएको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला वन महासंघका अध्यक्ष बेद प्रकाश भण्डारी, कोशी प्रदेश महासंघका कोषाध्यक्ष गीता भण्डारी र स्थानीय महासंघका अध्यक्ष चेतराज भट्टराईको उपस्थिति रहेको थियो । विभिन्न समितिहरू गठन गर्दै बन संरक्षण र व्यवस्थापनमा अग्नि नियन्त्रण समिति, बिक्री वितरण समिति र ३० वटा टोल समितिहरू सक्रिय रूपमा कार्यरत रहेको जानकारी पनि सभामा प्रस्तुत गरियो ।
सभाले भविष्यको नेतृत्वका लागि पाँच सदस्यीय निर्वाचन समितिको गठन गरेको छ भने जिल्ला महासंघको संयोजक चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। वार्षिक साधारण सभाले संस्था सुदृढीकरण र भावी योजनाबारे छलफल गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


