
झापा, २८ भदौ । झापाको कमल गाउँपालिकाका एक युवाले चार पाङ्ग्रे गाडी बनाउनुभएको छ ।
कमल गाउँपालिका–६ का २३ वर्षीय युवा अर्जुन विश्वकर्माले चार पाङ्ग्रे गाडी बनाउनुभएको हो । ‘मेड इन नेपाल’ लेखिएको उक्त गाडी उहाँले ‘सवारी साधान निर्माणमा मेरो पहिलो अभ्यास’ लेख्नुभएको छ ।
चार वर्षअघिदेखि गाडी बनाउन थालेको बताउँदै अर्जुनले हालसम्म रू चार लाख खर्च भएको बताउनुभयो । “गाडीमा चालकसहित चार जनासम्म बस्न मिल्छ”, कक्षा–१२ सम्म अध्ययन गर्नुभएका अर्जुनले भन्नुभयो, “धेरै मेहेनत गरेको छु, अझै प्राविधिक काम बाँकी नै छ ।”
रकम अभावका कारण भनेजसरी काम गर्न नसकिएको उहाँले बताउनुभयो । “कसैले लगानी गरिदिए हुन्थ्यो जस्तो लागेको छ”, उहाँले भन्नुभयो, “म जस्तो गाडी बनाउन लगाए त्यस्तै बनाउन सक्छु, सरकारी पक्षबाट सहयोग भए हुन्थ्यो ।”
गाडी बनाएर प्रदर्शन गर्दा कमल गाउँपालिकाले रू २० हजार सहयोग उपलब्ध गराएको अर्जुन बताउनुहुन्छ । हाल निर्माण गरिएको गाडीमा मोटर साइकलको इञ्जिन प्रयोग गरिएको उहाँको भनाइ छ ।
पेट्रोलबाट चल्ने यो गाडीले प्रतिलिटर २५ किलोमिटरसम्म यात्रा गर्न बताउँदै उहाँले भन्नुभयो, “यसमा केही प्राविधिक काम बाँकी नै छ, गाडी पूर्ण रुपमा तयार हुँदा ६० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ ।”
अर्जुनले सानैदेखि खेलौनामध्ये गाडी धेरै मन पराउने गरेको बुबा राजनले बताउनुभयो । “सानैमा खेलौनाहरुको गाडी बनाउँथ्यो”, उहाँले भन्नुभयो, “गाडी कुदाउने उसको सानैदेखिको सपना हो, आज आफैँ गाडी कुदाउँदै छ, मेरो काममा पनि गाडीबाट सहयोग गर्छ ।”


