
हल्दिबारी, २८ भदौ । झापाको हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक समिक्षा गरेको छ।
भदौ २७ र २८ गते आयोजित कार्यक्रममा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरूले आफ्नो वार्षिक कार्यसम्पादनको विवरण प्रस्तुत गरेका थिए । हल्दिबारीमा एक आधारभूत अस्पताल, तीन स्वास्थ्य चौकी र दुई आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।
यी स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८०–८१ मा ४६ हजार २ सय ६ जनाले स्वास्थ्य सेवा लिएका छन् भने आधारभूत अस्पतालबाट मात्रै २४ हजार २ सय ७३ जनाले सेवा लिएको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ्य संस्थाहरूमा आएका विभिन्न रोगका बिरामीहरूको विवरण, खोप कार्यक्रम तथा स्वास्थ्य सेवाका अन्य गतिविधिहरूको बारेमा जानकारी गराइएको थियो। साथै, स्वास्थ्य संस्थाहरूमा रहेका विभिन्न समस्याहरूको चर्चा पनि गरिएको थियो ।
गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, सामाजिक विकास संयोजक शान्ता शिवाकोटी, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, कार्यपालिका सदस्य बिजय राजवंशी, स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्याङ्क अधिकृत चुडामणि लुइटेल लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील भएकाले स्वास्थ्यकर्मीहरूलाई गुणस्तरिय सेवा प्रदान गर्न निर्देशन दिए। कार्यक्रममा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रकास खतिवडाले सहजीकरण गरेका थिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



