
बिर्तामोड, १ असोज । झापाको बिर्तामोड बसपार्कस्थित पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले तीन वर्षे डिप्लोमा तहको अध्यापन हुने भएको छ ।
यसै शैक्षिक सत्र २०८१ देखि कलेजले तीन वटा विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन शुरु गर्ने भएको हो । कलेज परिसरमा आज पत्रकार सम्मेलनको आयेजना गरी कलेजका डिप्लोमा तहको पठनपाठनबारे जानकारी दिएको हो ।
कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीले यस वर्ष २०८१ देखि भर्ना लिने गरी ३ वर्षे डिप्लोमा तहको सिभिल, इलेक्टिकल र कम्प्युटर विषयमा अध्यापन गर्न लागिएको जानकारी दिनुभयो । प्रत्येक विषयमा ४८/४८ जना विद्यार्थी भर्ना गरिने उहाँले बताउनुभयो ।
एसईई वा सो सरह उत्तीर्ण गरेका विद्यार्थीले यसै वर्षदेखि भर्ना भएर अध्ययन गर्न सक्ने उहाँले बताउनुभयो । “१२ कक्षा नढी सोझै तीन वर्ष पढेर ओभरसियर बन्न सकिनेछ”, उहाँले भन्नुभयो, “ओभरसियरको अध्ययन पनि रोजगारी त पाइन्छ नै, सँगै स्नातक तह (बीई) पनि पढ्न सकिन्छ ।”
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत तीन वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन हुने भएको हो ।
पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो । कलेजमा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सञ्चालन हुँदै आएको छ ।
कलेजमा डिप्लोमा तह अध्यपानका लागि सम्बन्धन लिन २०६८ सालमै आवेदन दिएको कलेजका संस्थापक अध्यक्ष युवराज प्रसाईंले लामो समय पछि सीटीइभीटीले सम्बन्धन दिएको बताउनुभयो । “झापाबासीले घरै बसेर इन्जिनियरिङ विषय पढ्ने वातावरण बनेको छ”, उहाँले भन्नुभयो, “अध्यापनका लागि आवश्यक सबै पूर्वाधार र उपकरण हामीसँग छ, गुणस्तरी र दक्षजनशक्ति हामी उत्पादन गर्छौं ।”
कलेजले नयाँ विद्यार्थी भर्नाका लागि आजैदेखि आवेदन समेत खुलाएको छ । अन्य कलेजको तुलनामा सहुलियतमा स्तरीय शिक्षा प्रदान गरिने कलेजले जनाएको छ ।
बीई अध्ययनको सन्दर्भमा १०+२ उत्तीर्ण गरेको, कक्षा ९–१२ प्राविधिक धार उत्तीर्ण गरेका र सिटिइभिटीको डिप्लोमा (ओभरसियर) उत्तीर्ण गरेका विद्यार्थीले भर्ना भई उक्त विषयमा अध्ययन गर्न सक्नेछन् ।
एसीसहितको कक्षा कोठा, नयाँ आधुनिक प्रयोगशाला, पर्याप्त खेल मैदान र विज्ञ प्रोफेसरहरुसहित ठूलो लगानीमा पाथिभरा इन्जिनियरिङ कलेज सञ्चालनमा रहेको जनाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।
https://www.facebook.com/jhapaonlineportal/videos/813196197365202


