
झापा, ६ असोज । पछिल्लो तीन वर्षको अवधिमा झापाको कनकाई नदीमा डुबेर २५ जनाले ज्यान गुमाएका छन् ।
यो डरलाग्दो तथ्याङ्क भएको प्रहरीको भनाइ छ । चालु आर्थिक वर्षमा क्षति बढेको छ । साउनदेखि असोज ५ सम्म कनकाईमा डुबेर ५ जनाको मृत्यु भइसकेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा ६ पुरुष र ३ महिला गरी ९ जना, ०७९–०८० मा ५ पुरुष, १ महिला, १ बालक र १ बालिका गरी ९ जना र ०८०र०८१ मा २ पुरुष, १ महिला, ३ बालक र १ बालिका गरी ७ जनाको मृत्यु भएको हो ।
यसै आर्थिक वर्षमा २ बालक, २ महिला र १ पुरुष गरी ५ जनाको मृत्यु भइसकेको छ भने एकजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । कनकाईमा मृत्यु हुनेहरूको तथ्याङ्कलाई हेर्दा बर्सेनि बढ्दै गएको देखिन्छ । गर्मीयाममा पौडी खेल्न जाँदा धेरै बालबालिकाले ज्यान गुमाएका छन् । त्यस्तै ७० वर्षमाथिका व्यक्तिहरू मादक पदार्थ सेवन गरेर नहरमा चिप्लेर लड्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । त्यसैगरी नदीमै नुहाउन, लुगा धुन, गाईबस्तुलाई पानी खुवाउन जाँदा अप्रिय घटना हुने गरेको प्रहरी निरीक्षक मगरले बताउनुभयो।
कनकाई नदीमा हुने गरेको बढ्दो मानवीय क्षति रोक्न प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि प्रभावकारी हुन सकेको छैन ।


