
कनकाई, १५ असोज । केही दिनयता बाढी पहिरोमा मृत्यु भएकाहरुको शोकमा झापाको कनकाई नगरपालिकाले नगरपालिकासहित नौ वटै वडामा राष्ट्रिय झण्डालाई आधा झुकाएको छ ।
आज नगरपालिकामा रहेको राष्ट्रिय झन्डालाई आधा झुकाउँदै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले विपद्मा ज्यान गुमाएमाप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नगर प्रमुख पोखरेलले राष्ट्रिय शोक मनाउँदै तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने बताउनुभयो ।
कनकाई–४ को कनकाई खोला पश्चिममा केही कटान गरेको छ भने वडा न १ र ८ को सिमान बिरिङ्ग खोलाको पुल उत्तर केही तथा वडा न २ र ३ को सिमान झरना बस्तिमा केही कटान गरेकोको छ । कटान नियन्त्रण गर्न जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, कर्मचारी र स्थानीय बासिन्दाको सहयोगमा तटबन्धन गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

नगर प्रमुख पोखरेलले वडा न ६ का २ घर त्यस्तै वडा न ३ का २ घर परिवारलाई बाढी आएकै समयमा सुरक्षित ठाउँमा सारिएको र हाल उहाँहरुलाई घरमा नै सारिएको समेत बताउनुभयो ।

नगरपालिकाले नदी नियन्त्रणमा पहिलो प्राथमिकतामा राखेर तारझाली, माछीकाडें लगायतका काम गरेकाले पनि क्षति हुन बाट बचेको बताउँदै नगर प्रमुख पोखरेलले नदी नियन्त्रण तथा तटबन्धनमा प्रदेश तथा संघीय सरकारले त्यति ध्यान नदिएको गुनासो पोख्नुभयो । उहाँले आगामी वर्षबाट नदी नियन्त्रण तथा विपद्लाई नै पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउनुभयो ।
अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण हालसम्म २२० जनाले ज्यान गुमाएका छन् । २५ जना अझै बेपत्ता छन् । घाइते भएका १४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । वर्षाका कारण १३ वटा पुल र २१ किलोमिटर सडक बगाएको छ । यसबाट राज्यलाई २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।
बाढी पहिरोका कारण पाँचथर, सुनसरी र सिन्धुपाल्चोकमा गरी तीनवटा बेली ब्रिज बगाएको छ । त्यस्तै, पक्की पुल पाँचवटा, झोलुंगे पुल सातवटा र अन्य किसिमका पुल चारवटा गरी १९ वटा पुलमा क्षति भएको छ ।
सडक विभागका अनुसार देशभर ११ वटा पुल र सय किलोमिटरजति सडक बाढीले बगाएको छ ।कोशी प्रदेशले भने २६ पक्की र झोलुंगे पुलमा क्षति पुगेको जनाएको छ । सरकारले विपद् कोषमा तत्काल एक अर्ब रुपैयाँ उपलब्ध गराइने तथा मृतकका परिवारलाई जनही दुई लाख दिइने, तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।


