
होक्से, १८ असोज । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा भएको झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकले जितेको छ भने प्रेस क्लब भद्रपुर उपविजयी भएको छ ।
आज भएको फाइलन खेलमा भद्रपुरलाई १–३ गोल अन्तरले हराउँदै दमकले उपाधि रक्षा गरेको हो । जीतसँगै दमकले नगद रू २५ हजार, मेडल र प्रमाणत्र पाएको छ भने उपविजेता भद्रपुरले रू १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले, पत्रकार महासंघ झापाका अध्यक्ष एक राज गिरी, त्रिभूवन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग तिम्सिना लगायतले विजयी–उपविजयी टीमलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
असोज १७ गते शुरु भएको प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष वाग्लेले खेलकुद क्षेत्र वडाको प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । उहाँले समृद्धिका अनेकन पाटाहरु भए पनि खेलकुद पनि समृद्धिको महत्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट असल, सभ्य र समुन्नत राष्ट्र बनाउने सकिने धारणा राख्नुभयो ।
त्यस्तै पत्रकार सहासंघ झापा अध्यक्ष गिरीले जिल्लाभरिका सञ्चारकर्मीलाई खेलकुदको माध्यमबाट एकै थलोमा उभ्याएको बुद्धशान्ति प्रेस क्लबको प्रसंशा गर्नुभयो । उहाँले समग्र सञ्चार क्षेत्रको विकासका लागि सबैको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सचिव रोषन भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा त्रिभुवन माविका प्रअ कुमार आचार्य, वडा नं १ मा वडा सदस्य तुलसा खतिवडा रेग्मी, लक्ष्मी प्रसाद कंडेल, मोहन कुमार राई लगायतको आतिथ्य रहेको थियो ।
मुख्य प्रायोजक बुद्धशान्ति गाउँपालिका वडा नं १ रहेको र खेल बुद्धशान्ति १ को खेल मैदानमा भएको यो प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागिता रहेको क्लबका उपाध्यक्ष नारायण अर्यालले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


