
झापा, २० असोज । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा सन्थाल मेला आयोजना हुने भएको छ ।
आज यहाँ पत्रकार सम्मेलन गरी लोपोन्मुख सन्थाल जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले फुलपातिका दिन ‘कनकाई सन्थाल मेला’ आयोजना हुने जानकारी दिइयो । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुने मेलामा प्रतियोगात्मक सन्थाल नृत्य हुने प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । प्रतिष्ठानले लोपोन्मुख जाति सन्थालको संस्कृति संरक्षण गर्ने उद्देश्यले २०७९ सालदेखि सन्थाल मेला आयोजना गर्दै आएको छ ।
“पछिल्लो समय सन्थाल जातिको संस्कार–संस्कृति लोप हुन थालेको छ”, अध्यक्ष थपलियाले भन्नुभयो, “सन्थाल संस्कृति जगेर्ना गर्नुपर्छ भनेर मेला शुरु गरेका हौं ।” उत्कृष्ट नृत्य टोली छनोटका लागि सन्थाल समुदायबाटै अग्रजहरुको निर्णायक टोली निर्माण गरिने उहाँले बताउनुभयो ।
मेलामा विशेषगरी झापा, मोरङ र सुनसरीका सन्थाल नृत्य समूहले नृत्य प्रस्ततु गर्ने छन् । प्रतियोगितामा पहिलो हुने समूहले नगद रू ३५ हजार, द्वितीयले रू ३० हजार, तृतीयले रू २५ हजार, चौथो रू २० हजार, पाँचौले रू १८ हजार र सान्त्वना स्वरुप सबै सहभागी नृत्य समूहलाई रू १०÷१० हजार दिइने मेला संयोजक गोपाल खरेलले जानकारी दिनुभयो ।
सन्थाल मेला आयोजनाका लागि गोपाल खरेलको संयोजकत्वमा २५ सदस्य मूल आयोजक समिति गठन गरिएको छ । छवि थपलियाको संयोजकत्वमा मान्ता खरेल र चित्रा श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।
यस्तै, अम्बिका खरेलको संयोजकत्वमा अतिथि सत्कार, भुवन खतिवडाको संयोजकत्वमा प्रचार–प्रसार, रमेश मैनालीको संयोजकत्वमा मञ्च व्यवस्थापन र सुनिल मुर्मूको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति गठन गरिएको मेला आयोजक समितिले जनाएको छ ।
मुख्य संरक्षक रहेको कनकाई नगरपालिकाले मेलाका लागि रू दुई लाख ५० हजार आर्थिक सहयोग गरेको छ भने मेला सम्पन्न गर्न रू तीन लाख ९८ हजार खर्च लाग्ने प्रतिष्ठानका सचिव मान्ता खरेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेतीले सन्थाल मेलालाई थप व्यवस्थित गर्दै लगिने बताउनुभयो । उहाँले विगतमा देखिएका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका सल्लाहकार राजेन्द्र उप्रेती, प्रतिष्ठानका अन्य पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।


