
शिवसताक्षी, २० असोज । झापाको शिवसताक्षी नगरपालिकाले आज बोलोचोक बजार, पाराबारी बजार, मंगलबारे बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा बोलोचोक बजारका अधिकांश पसलहरु बन्द गरेको पाइएको छ ।
नगरपालिकाको गाडी रोकेर अनुगमन सुरु गरेपछि भित्री बजारका पसलहरु एकाएक बन्द भएको हो । बोलोचोकका एक व्यापारीले भने, अगिसम्म सबै पसल खुल्लै थिए , अनुगमन आएको देखेपछि सबै पसल बन्द भए ।
त्यस्तै वडा नं. ३ को पाराबारी बजारका ढकाल स्टोर, क्ुमार किराना, नेपाल सप्लायर्समा म्याद गुज्रिएका पेय पदार्थ, कुरमुरे, चाट मसला, पापडलगायत खाद्य सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. २ मंगलबारेको आर्यन होटलमा चिप्स, कुरमुरे, फ्रुटीलगायत ११० पिस चुजबल म्याद गुज्रिएको भेटिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा गणेश स्टोर्स, मोक्तान होटल एण्ड मधिरा पसल, ताजपुरिया फलफल पसल, सुमन किराना पसल र चिया पसलमा बाहिर राखेर पेट्रोल विक्री गरेको पाइएको थियो । बोलोचाक, पाराबारी र मंगलबारेका अधिकाश पसलहरुमा ग्लेन र बोतलमा राखेर खुलेहाम पेट्रोल विक्री गरेको शिवसताक्षी अनुगमन समितिकी संयोजक तथा उपप्रमुख नरमाया कार्कीले बताइन् ।
नगरपालिकाले अनुगमनका क्रममा भेटिएका खाद्य वस्तुहरु नष्ट गरिदिएको छ । शिवसताक्षी नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा शिवगञ्ज प्रहरी, नगर प्रहरी, गरका कर्मचारी, सञ्चारकर्मी, बाणिज्य संघका प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्ष, बजार समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।



