
डा जया सत्याल
आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं ।
जेठीमधु – यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ।
ल्वाङ्ग – ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन।
जामुन – जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन। साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ।
आँप – यो आँपको सिजन त होइन। तर काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ। त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ। यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ।
सौंफ – सौंफले पनि वान्ता रोक्ने काम गर्दछ। यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन।
अदुवा – रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ। अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ। यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम ९अमिलो अनार०, बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ।
अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ।
स्वास्थ्यखबरबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



