

कनकाई, १४ कात्तिक । होटल डिलाइट र अमेरिकी भूतपूर्व सैनिक आशिष संग्रौलाद्वारा यहाँस्थित सुरुङ्गामा आयोजित कनकाई वडास्तरीय दसैंतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई वडा नं. ३ ले जितेको छ ।
आज फाइनल खेलमा ३ नम्बरले ५ लाई १—० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै कनकाई–३ ले नगद ७१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजयी ५ नम्बरले नगद ३५ हजारमा चित्त बुझाएको छ ।

कनकाई–३ को लागि आज पनि क्षितिज कुँवर नायक बने । खेलेका सबै खेलमा म्यान अफ द म्याच बन्न सफल कुँवरले आज पनि आफ्नो टिमका लागि खेलको १९ औं मिनेटमा गोल गर्दै टिमलाई बिजयी बनाए । आजको खेलको पनि म्यान अफ द म्याच हँुदै उनले नगद १५ सय प्राप्त गरेका छन् ।
विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांंसद एलपी साँबा लिम्बू, प्रदेश सांसद राधाकृष्ण खनाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लगाई, आयोजक समितिका ख्याम ओली, आशिष संग्रौला, नविन सुवेदी लगायतले नगद र ट्रफी प्रदान गर्नुभयो ।
यसैगरी, यस खेलमा विधागत तर्फको सर्वोकृष्ट खेलाडी कनकाई–३ का आदित्य बानियाँ, हाइस्कोरकर्ता कनकाई–५ का रोचन लिम्बू, उत्कृष्ट गोलकिपर कनकाई ३ का विवेक वाग्ले र उत्कृष्ट डिफेन्डर कनकाई–३ कै विशाल मुर्मू भए । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरेका छन् ।
कनकाई नगरपालिका क्षेत्रबाट खेल खेलेर हाल राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिरहने परुष फुटबलका राष्ट्रिय खेलाडी रोहन कार्की र महिला तर्फकी खेलाडी सिम्रन राईलाई समेत नगद ५ हजार सहित सम्मान गरिएको छ । कनकाई माविको खेल मैदानमा कात्तिक ९ गते प्रतियोगिता शुरु भएको थियो ।