
चन्द्र बस्नेत
कनकाई, १५ कात्तिक । झापाको कनकाई–३ सुरुङ्गास्थित हरिकुल नमूना माध्यमिक विद्यालयमा तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता–२०८१ कार्यक्रम सम्पन्न गरेको छ । लोक संस्कृतिको प्रबद्र्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ विद्यालय परिसरमा उक्त कार्यक्रम गरिएको हो ।
विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाले खुला देउसी भैलो कार्यक्रममा कनकाई माविका समूह, हग्ङ्स बाहिनी समूह, नेपाल लिङ्ग कम्युनिकेसन समूह ,कनकाई कृतन मण्डली समूह, द लोकल देउसी समूह, भगवती साधन केन्द्र ,कनकाई लोक कला समूह, ग्रामीण विकास सेवा समूह, नमुना टोल, बिर्तामोड नृत्य, मेरिगोल्ड अंग्रेज़ी विद्यालय, मधुवन कला केन्द्र, ग्लोबल अङ्ग्रेजी विद्यालय, फ्क्तालुङ्ग अङ्ग्रेजी विद्यालय लगायत १४ टोली सहभागी रहेको जानकारी दिनुभयो ।
प्रतियोगितामा ग्रामीण विकास सेवा समुह प्रथम, हङ्ग्स बाहिनी समूह द्वितीय, ग्लोबल अङ्ग्रेजी विद्यालय तृतीय तथा मधुवन कला केन्द्रले सान्त्वना पुरस्कार पाएको छ । प्रतियोगितामा प्रथमलाई नगद २० हजार रुपैयाँ, द्वितीयलाई नगद १५ हजार, तृतीयलाई नगद १० हजार रुपैयाँका प्रदान गरिएको थियो ।
विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख पोखरेलले समाजमा सन्देश फैलाउनको लागि, आधुनिकताका नाममा भित्रिएका विकृतिहरू हटाउनको लागि र पुराना कलाको संवर्द्धनको गर्नको लागि विद्यार्थीहरू महत्त्वपूर्ण माध्यम हुने भएकोले सकेसम्म हरेक विद्यालयले वार्षिक रूपमा मौलिक देउसी भैलो प्रतियोगिता राख्न आवश्यक रहेको धारणा राख्नु भएको थियोे ।
कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, शिक्षक अभिभावक संघका अध्यक्ष लीलाप्रसाद चिमरिया, नेपाल भारत मैत्री संघका प्रतिनिधि श्याम पौडेल, कनकाई खेलकुद प्रतिस्ठानका अध्यक्ष छवि थपलिया लगायतले आजभोलि गाउँ–गाउँका विद्यालयका विद्यार्थीले मादल, मुजुरा, खैँजडी, मुरली जस्ता मौलिक बाजाको प्रयोग गरेर यदाकदा देउसी खेल्ने गरेको देखिए पनि शहर बजारमा ‘डान्स बार’ मा बजाइने खालका ‘रिमिक्स’ गरिएका तथा नेपाल बाहिरका गीत सङ्गीतहरूमा नाच्ने प्रवृत्तिले मौलिक कलालाई किचिसकेको छ ।
कार्यक्रमकै अवसरमा विद्यालयका कक्षा नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने एक–एक जना विध्यार्थीलाई पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।


