
झापा, १९ कात्तिक । झापामा दुर्घटनामा घाइते दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी–८ निवासी ६१ वर्षीय गणेश खड्का र झापा–६ निवासी ४० वर्षीय कमनसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखाको उपचारको क्रममा मृत्यु भएको हो । यी दुवैजना कात्तिक १६ गते दुर्घटनामा परेका थिए ।
खड्काको बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा आज बिहान ५ बजे उनको निधन भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ। पूर्व–पश्चिम राजमार्गको शिवसताक्षी–११ कृष्ण मन्दिर नजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशामा जाँदै गरेका साइकलयात्री खड्कालाई ठक्कर दिएको थियो ।
त्यस्तै, झापा–६ किरातचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करले लिंखा घाइते भएका थिए । बिएन्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान ५ः१० बजे उनको पनि मृत्यु भएको हो । सुरुङ्गाबाट झापा बजारतर्फ गइरहेको मे. ७ प ५७५९ नम्बरको मोटरसाइकलले पैदलयात्री कमनसिंह र उनका छोरा अस्मिनलाई ठक्कर दिएको थियो ।


